राजनीति
नेपाल सरकारका बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेकपा एमाले नेता केशव वडालबीच वादविवाद बढ्दा झण्डै कुटाकुटमा उत्रिएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’को सुटिङको क्रममा दुवै आक्रमक बनेका हुन् ।
प्रदेश प्रमुखको नियुक्ति, प्रदेशको अस्थाई राजधानी, राष्ट्रिय सभाको निर्वाचन र बर्तमान सरकारले राजिनामा दिने कुरामा वादविवाद हुदा मन्त्री विश्वकर्मा र नेकपा एमालेका नेता केशव वडालबीच कुटाकुटको अवस्था आएको थियो ।
प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा नेकपा एमालेसंग सहमति हुन नसकेकाले नै नयाँ सरकारको गठन हुन नसकेको विश्वकर्माले बताए । तर २/३ दिनमै सबैको चित्तबुझ्ने गरी सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी भैरहेको मन्त्री विश्वकर्माले बताए ।
औपचारिक कार्यक्रममा मन्त्रीलाइ त त म म गरे पछि मन्त्री विश्वकर्माले एमाले नेता वडाललाई ‘गाउले कुरा नगर्नुस’ भन्दा वडाल विश्वकर्मामाथि झण्डै जाइलागेका थिए । एकछिनपछि फेरी विश्वकर्माले वडाललाई ‘खिच्चा कुरा नगर्नुस’ भन्दा वडालले विवाद चर्काए पछि मन्त्रीले सामन्ती पारा नदेखाउन चेतावनी दिएका थिए। दुबै नेताबीच झण्डै कुटाकुटको अवस्था आउदा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ भने चकित भई विश्वकर्मा र वडालको झगडा हेरिरहेका थिए ।