राजनीति
लमजुङ- लमजुङ बेसीशहर नगरपालिका– १ को आकाशे भीरसँगै रहेको गाइखुरे झरनाले आन्तरिक पर्यटनमा प्रवद्र्धनमा टेवा दिन थालेका छन ।
हेर्दै आङ सिरीङ्ग गर्ने त्यो झरनाको मनमोहक सुन्दरता तथा प्राकृतिक छटामा रम्न खासगरी युुवा पुस्ताको लर्को लाग्न गरेको छ । उक्त झरना डुम्रे–बेसीशहर सडक खण्डको छेउमा पर्दछ । उक्त गाईखुरे झरनामा रम्न ओइरिने भिडको लर्को देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन साथीभाई भेटघाट गर्ने थलो पनि बन्न थालेको छ, गाईखुरे झरना । चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्वीर खिच्ने रहर त्यहाँ पुग्ने प्रायः सबैलाई हुने गर्दछ । बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ ।
डुम्रे– बेसीशहर सडक खण्ड अन्तर्गत सडकको पहुँच मार्गसँगै रहेको हुनाले पनि गाईखुरे झरनामा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको स्थानीयले बताए ।
गाईखुरे झरना मध्यमस्र्याङदी जलविद्युत आयोजनाको बाँधस्थलसँगै रहेको छ । मनोरम र शान्त वातावरण छ । क्यानोनिङ गर्न, पौडी खेल्न र नुहाउनका लागि युवा वर्गको लर्को लाग्ने गर्दछ।
लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले गत झरना जाने बाटो मर्मत र पौडी पोखरी फराकिलो बनाएको पछि त्यसको आकर्षणमा बढोत्तरी भएको छ । नेपाली सेनाकै पहलमा झरना लगायत वरपरका ठाउँहरू सरसफाइ समेत गरिएको छ ।
आजसम्म वर्षायाममा मात्र पर्यटकको आकर्षण हुने गरेको सो झरनालाई अब नगरपालिकाको पहलमा बार्है्र महिना सञ्चालन हुने गरी बनाउने तयारी गरेको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । उनका अनुसार मस्र्याङ्दी नदीको पानीलाई तानेर झरनामाथि खसालेर त्यसलाई व्यवस्थित गर्ने कार्यक्रम छ । उनले भने,‘नगरपालिका भित्र १० वटा पर्यटकीय स्थल निर्माण गर्न सात करोडको बजेट विनियोजन गरेका र्छौं, त्यसको डिटेल टेण्डरमा हामी प्रकाशन गर्छौ ।’