logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

त्रिशूली बस दुर्घटना शनिवार अपडेट : ९ जनाको शव , ५ को सनाखत ! २० भन्दा बढी बेपत्ता


  • राजनीति
  • शनिबार, साउन २५ २०७६

पोखरा- सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ।भने अझै २० भन्दा बढी यात्रु नदीमा बेपत्ता छन्।

दुर्घटनामा परेकामध्ये ९ जनाको शव फेला परेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शनिबार बिहान सवा ९ बजे जानकारी गराएका थिए।

बसमा ४५ जना रहेका आधारमा अझै २१ यात्रु हराइरहेकाले खोजी भइरहेको उनले बताए। मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ।

भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएकाे हाे।

यसपछि कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट हिजो शुक्रबार बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो।

सर्लाहीको सदरमुकामबाट ४० यात्रु, सर्लाहीकै हरिपुरबाट थप २ जना चढेको र गाडीका कर्मचारी ३ जना गरी बसमा ४५ यात्रु रहेको बताइएको छ।

दुर्घटनामा परेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सर्लाहीका भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र सञ्जय महतो छन् । जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार