राजनीति
काठमाडौं- सार्वजनिक शिक्षा २०५७ सालको शिक्षा नीतिका कारण कमजोर हुँदै गएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताएका छन्। राजधानीमा शनिबार राष्ट्रिय युवा महासंघ नेपालले गरेको ‘सार्वजनिक शिक्षा प्रणालीका आयामहरू’ अन्तरक्रिया कार्यक्रममा कँडेलले बताएका हुन्।
उपाध्यक्ष कँडेलले परिवर्तनको नाममा २०५७ सालमा गल्ती भएको बताए। ‘निजिकरण गर्ने क्रममा २०५७ सालमा शिक्षा नीति बनायौँ त्यसमा प्राइभेट कम्पनीबाट विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्यौँ’, उनले भने, ‘त्यसै बेलादेखि दिन दुई गुणा र रात चौगुणाका हिसाबले सार्वजनिक शिक्षा कमजोर हुँदै जाने र निजी शिक्षा सबल हुँदै जाने काम भयो।’
उनले निजी शिक्षा मुनाफामुखी भएकाले बढी दबाब हुने र शिक्षक पनि सोहीअनुसार केन्द्रित हुने भएकाले निजी शिक्षा गुणात्मक जस्तो देखिएको बताए। तर परीक्षाको नतिजा मात्र गुणात्मकताको मापन गर्ने आधार नभएको उनले प्रष्ट पारे।
अन्तरक्रियामा शिक्षाविद् मनप्रसाद वाग्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायतकाले धारणा राखेका थिए।