logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनै पूर्णिमाका अवसरमा पोखरा आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण


  • रासस
  • बिहिबार, साउन ३० २०७६

पोखरा- श्रावण शुक्ल पूर्णिमा(जनै पूर्णिमा)का अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ ।

वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण सहित सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा रहेको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का घनश्याम भट्टराईले जानकारी दिए ।

यस दिन तागाधारीले पुरानो जनै फुकाली आजै आमन्त्रण गरिएको नयाँ जनै फेर्ने प्रचलन रहेको उनले बताए । कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषि तर्पणीका रुपमा लिने गरिन्छ ।

गुरु पुरोहितबाट हातमा रक्षाबन्धन बाँध्नाले वर्षभर शरीरको रक्षा हुने जनविश्वास छ । गुरु पुरोहितले ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिबध्नामी रक्षेमा चल मा चल’ मन्त्रोच्चारण सहित यजमानको नाडीमा रक्षबन्धन गर्ने चलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने जनविश्वासले पनि यस पर्वको महत्व रही आएको बताइन्छ । आजको दिन केराउ, भटमास, सिमि, बोडी, मास, चना, मस्याङ लगायतका नौ थरिका गेडागुडी मिसाएको क्वाँटी खाने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार