logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन पार्टी सत्तामा गएका हौं :- उपेन्द्र यादव


  • रासस
  • आइतबार, भाद्र १ २०७६

गोरखा- समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन सत्तामा गएको बताएका छन्।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुगेका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन्।

उनले जुन सर्तमा पार्टी सत्तामा गएको छ, त्यही सर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताए।

संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरूको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उनले बताए। ‘अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको छ’, अध्यक्ष यादवले भने, ‘हुन्न नै भनेर हामीले भन्न सक्ने अवस्था पनि छैन।’

समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरूप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ त्यसलाई परिमार्जन गर्न चाहेको उनले बताए।

‘सविधान संशोधन गर्दिनँ भनेर उहाँहरूले अहिलेसम्म भन्नुभएको छैन’, अध्यक्ष यादवले भने, ‘तर किन हो ढिलो भइरहेको छ।’

अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गरे।

‘कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन’, उनले भने।

उप्रधानमन्त्री यादवले सरकारले गरेको राम्रो कामको पार्टीले प्रंशसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको पनि बताए।

उनले पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको उल्लेख गरे।

‘डब्लुएचओले पनि कम्तीमा कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नैपर्छ भनेको छ’, उपप्रधानमन्त्री यादवले भने, ‘हामीकहाँ कूल बजेटको ४.४८ प्रतिशत बजेट विनियोजन भएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त होइन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार