राजनीति
सत्तारूढ दल नेकपा प्रदेश २ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिका विहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको भने बुझाइ साहको छ।
प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइयो। सर्वसम्मत ढङ्गबाट जिल्ला कमिटी गठन गर्दासमेत शपथ ग्रहण अगाडि बढ्न सकेको छैन । ज़िल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत विनाकारण नेतृत्व तहबाट रोकिएकोमा चित्त दुखेको उनी निकट स्रोतले बताउँछन् । स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएका थिए ।