राजनीति
सरकारले मंगलबार २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा ६ लाख ७९ हजार ६ सय ९४ घरका परिवार हिउँदमा चिसो र बर्खामा पानीको सास्ती झेल्न बाध्य छन् । भूकम्प प्रभावित झन्डै सात लाख घरपरिवार अझै छानोबाहिर छन् ।सात लाख ६७ हजार सात सय पाँच घर पुनर्निर्माण गर्नुपर्ने भए पनि सरकारले भूकम्प गएको दुई वर्ष आठ महिना बित्दा पनि ८८ हजार ११ वटा मात्र घर निर्माण गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने हालसम्म ६ लाख ८० हजार आठ सय ५६ घरपरिवार अर्थात् ८८ प्रतिशतसँग निजी आवास निर्माणका लागि सम्झौता भएको र सम्झौता भएकामध्ये ४३ प्रतिशत (८८०११ घर) निर्माण सम्पन्न भएको जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म ६ लाख ४८ हजार पाँच सयले पहिलो किस्ता, एक लाख ३८ हजार पाँच सय ४२ ले दोस्रो किस्ता र ३६ हजार सात सय ७५ ले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिइसक्नुपर्ने म्याद दुई दिनअघि सकिएकाले के कति यसबाट वञ्चित भए भन्ने विवरण संकलनमा रहेको प्राधिकरणले जनएको छ । निजी आवास निर्माण गर्न दोस्रो किस्ताका लागि निवेदन दिनेको संख्या एक लख ९८ हजार चार सय ९३ र तेस्रो किस्ताका लागि ५७ हजार छन् । प्राधिकरणका उपसचिव मनोहर घिमिरेले भूकम्प प्रभावितमध्ये करिब १२ प्रतिशतसँग सम्झौता हुन नसकेको जानकारी दिए ।
‘काठमाडौं उपत्यकाभित्र १ लाख एक हजार घर भत्किएकोमा साढे चार हजार मात्र बनेका छन्, १५ हजार बन्दै छन् अर्थात् ८० हजारभन्दा बढी घर बन्न सकेका छैनन् । यसमा दुई वटा घर भएर, बनाउन नचाहेर वा यस्तै विविध समस्या रहेछन् ।’