राजनीति
पोखरा -पोखरामा शुक्रवारसम्म २ सय ३० जनामा डेंगु रोगबाट संक्रमित भएको पाइेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका नि।निर्देशक डा। भोजराज गौतमले हालसम्म पोखरा क्षेत्रमा २ सय ३० जना मानिसमा डेंगु रोगको संक्रमण भइसकेको जानकारी दिए । उनले विशेषगरी पोखरा महानगरपालिका वडा ८, ९, १०, १७ मा यो बढी देखा परेकोले त्यस वडामा विशेष चनाखो हुनुपर्ने बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष पोखरामा ५ सय ७१ जनामा डेंगु संक्रमण भएको थियो ।
यसैबीच, गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले यस क्षेत्रमा डेंगु नियन्त्रणका लागि क्षेत्रीय निर्देशनालयमार्फत खर्च हुने गरी २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
चिकित्सकका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधैँ सर्दैन बरु लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका ड्रम, फूलदानी, गमला, कुलर, पानीका टंकी लगायतमा यसले फुल पार्दछ । वर्षाको महिनासँगै जताजतै पानी जम्ने भएकोले यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ ।
यसका मुख्य लक्षणमा आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोनी, हड्डी तथा मांशपेसीहरु दुख्ने, उच्च ज्वरोसँगै ती लक्षण देखा परेमा यो रोग लागेको आशंका गरिन्छ । साथै वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिंजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत रहेको चक्का (नीलडाम) देखा पर्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्न सक्ने जनाइएको छ ।
डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकोले यसको खास उपचार छैन र डेंगु ज्वरोविरुद्ध खोप समेत उपलब्ध छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गर्ने गरिन्छ ।
रोग लाग्नबाट जोगिन लामखुट्टेको टोकाइबाट बँच्ने, त्यसको लागि पूरा बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने, टोकाइबाट बँच्ने मल्हम लगाउने, घर वरिपरि पुराना भाँडामा पानी जम्न नदिने, जमिहाले हप्तामा २ पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्किने, खानेपानीका टंकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने गर्नुपर्दछ ।