logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

उपराष्टपति पासाङ्गको गाउमा वम विस्फोट र आगजनी


  • राजनीति
  • मंगलबार, भाद्र १० २०७६

माओवादी जनयुद्धको आधारभुमी रोल्पाको एक वडा कार्यालयमा बम विस्फोट र आगजनी गरिएको छ। परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा आतबार राति साढे १२ बजे बम विस्फोटलगत्तै आगजनी गरिएको हो। उपराष्ट्रपति नन्दबहादुर पुनको गृह वडा राङसीको कार्यालयमा विस्फोट र आगजनी भएको घटनाले गाउँले त्रसित बनेका छन्।

विस्फोट र आगजनीबाट कार्यालयका ढोका, पर्दा र डस्टबिन जलेका छन्। वडाअध्यक्ष हरिप्रसाद घर्तीले सोमबार विज्ञाप्ति जारी गर्दै विस्फोट र आगजनीबाट कार्यालयमा आशिंक क्षति भएको जनाएका छन्। कार्यालयलाई जलाउने मनसायले अज्ञात समूहले विस्फोट र आगजनी गरेको वडा कार्यालयले जनाएको छ। समाचार तयार पार्दासम्म विस्फोट र आगजनीको जिम्मा कसैले लिएको छैन।

पानी परिरहेका बेला कार्यालय परिसरमा ठूलो विस्फोटको आवाज गाउँलेले सुनेका थिए। सुरुमा चट्याङ परेको ठानेका गाउँलेले वडा कार्यालयमा आगो सल्किएको देखेर निभाउन पुगेका थिए। कार्यालयको चारवटा ढोकामा जुटको बोरामा डिजेल छर्किएको अवस्थामा आगो सल्किएको देखेर गाउँले त्रसित बनेका थिए।  चट्याङ लागेर आगलागी भएको ठानेका गाउँलेले बमको टुक्रा र डिजेल लटपटिएको जुटको टुक्रा देखेपछि आक्रमण भएको आशंका गरेका थिए।

घटनाको सूचना पश्चात इरिबाङबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए। विस्फोट र आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ। घटनास्थलमा विस्फोट भएको कित्ली बमको टुक्राटुक्री फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरुको खोजी र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लिबाङ र घर्तिगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थल तर्फ परिचालित गरिएको छ।

परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी घटना स्थल जाने तयारीमा रहेको वताए। विस्फोट र आगजनी भएकोबारे गाउँलेले आफूलाई मध्ये रातमा जानकारी गराएको अध्यक्ष डाँगीले बताए। समयमै गाउँले आगो निभाउन पुगेकाले कार्यालय खरानी हुनबाट जोगिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार