सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले नेपाली सेनामा रहेको ‘रेन्जर बटालियन’ खारेज गुर्नपर्ने सुझावसहितको माग गरेपछि यसबारे पुनः बहस शुरु भएको छ ।
माओवादी जनयुद्धको बेलामा तत्कालीन नेपाल सरकारले अमेरिकी सेनाको सहयोगमा ‘अप्रेसन’का लागि भनेर विशेष संरचनाका रूपमा ‘रेन्जर बटालियन’ गठन गरेको थियो ।
नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात नेपालमा हरेक क्षेत्रमा अमेरिकाको प्रभाव पर्यो भन्ने बुझेर गुरुङले त्यस्तो माग राखेको हुनसक्ने बताउँछन् । ‘केही न केही बुझेर नै त्यस्तो माग आएको हुनसक्छ । तर मेरो विचारमा यस्ता धेरै फोर्सभन्दा पनि सेनामा एउटा स्पेसल फोर्स बनाउनु उपयुक्त हुन्छ ।’
सुरक्षाविद् समेत रहेका डा. बस्न्यातले हालको सेनाको सङ्ख्या ९० हजारको हाराहारीमा भएको भन्दै त्यसमध्ये ५० हजारलाई समेटेर स्पेसल फोर्स बनाउन सकिने व्यक्तिगत सुझाव रहेको बताए ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाको ‘रेन्जर बटालियन’ खारेज गर्ने विषयमा कुनै छलफल नभएको बताए । यद्यपि उनले यसको निर्णय गर्ने अधिकार रक्षा मन्त्रालयमा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया पनि दिए । ‘त्यो कुरा कसरी आयो ? किन आयो थाहा भएन । तर मलाई लाग्छ संरचना खारेज गर्ने कुरा सम्भव नहुनसक्छ,’ सहायकरथी पाण्डेले रातोपाटीको प्रश्नमा जवाफ दिए ।
राष्ट्रियताका निम्ति खतरा देखेरै भनेको हो : गुरुङ
‘सेनाको यो बटालियन किन खारेज गर्नुपर्ने हो ?,’ भन्ने रातोपाटीको प्रश्नमा नेकपाका नेतासमेत रहेका गुरुङले थप प्रस्ट पार्दै भने, ‘खतरा भएकाले नै मैले सरकारलाई यस्तो सुझाव दिएको हुँ । अमेरिकन सेनाको योजना र कार्यक्रम अनुसार नै यो फौज तयार भएको हो ।’ गुरुङका अनुसार जसलाई नेपाली सेनाभित्र ‘अमेरिकन बेबी’ समेत भनेर चिनिन्छ । उनले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल भएको छ भन्ने कुरामा सरकार र आफ्नो दलका नेताहरु सचेत रहेको समेत दाबी गरे ।
के हो रेन्जर बटालियन ?
नेपाली सेनाभित्रका धेरै गणहरु मध्येको एउटा गण हो ‘रेन्जर बटालियन’ । जसको नामकरण माओवादी सशस्त्र युद्धका बेलामा गरिएको थियो । यसअघि ‘महावीर गण’ले चिनिने यो गण पछि रूपान्तरण गरिएको हो ।
मुलुकमा तत्कालीन विद्रोही माओवादी सङ्घर्ष बढ्दै गएका बेला अमेरिकी सेनाको सहयोगमा यो फोर्स स्थापना गरिएको भनिए पनि उक्त बटालियनका पूर्व बाहिनीपति समेत रहेका अवकास प्राप्त सहायकरथी बाबुकृष्ण कार्की रेन्जर बटालियन ‘कन्भेन्सनल’ फौज भएको दाबी गर्छन् । उनी भन्छन्, ‘यो फौज प्रतिविद्रोहमा प्रयोग हुँदैहुँदैन । गरिए गलत हुन्छ । यसले त भूकम्प, विपद् व्यवस्थापन, शान्ति मिसन लगायत अत्यन्त कठिन काम गर्न परिचालन गर्ने गरिन्छ ।’
यस अन्तर्गत झण्डै २ हजारको हाराहारीमा जनशक्ति रहेको बताइएको छ । जसलाई अत्याधुनिक तालिम प्रदान गरिएको हुन्छ । उनले रेन्जर बटालियनका सेना नेपालको अत्यन्त अनुशासित, बहुआयामिक सीप र क्षमता रहेको फौज हुनुका साथै व्यावसायिक फौज रहेको बताए । ‘कठोर काम गर्नसक्ने, देश सङ्कटमा परेको बेला परिचालन गर्ने यो फौज अमेरिकामा तालिम गरेर आएका नेपालीहरुले फोर्सका रूपमा गठन गरिएको हो’, उनले थपे ।