logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

स्वस्थ खाना को महत्त्वबारे लेखिरहन्छु : डा. अरुणा उप्रेती


  • डा . अरुणा उप्रेती
  • शनिबार, भाद्र १४ २०७६

‘तपाईं पोषणकै बारेमा कति लेखिरहनुहुन्छ ? तपाईंले लेखेका कुरा पढ्दा मलाई पनि कण्ठै भइसक्यो । अब कुनै नयाँ विषयमा लेख्नुस् न,’ एक पाठकले केही दिनअघि मलाई भनेका थिए, ।

मैले उनलाई जवाफ दिएँ, ‘म लेखिरहन्छु, यही विषयमा । किनभने भोजन बढी भएर वा पोषण नपुगेर बालबालिकादेखि वयस्क र वृद्धसम्म अनेक समस्याबाट पीडित भएका छन् । एकातिर कुपोषण छ, अर्कोतिर जंक फुड खाएर मानिसमा मोटोपन बढेको छ । त्यही मोटोपनले उच्च रक्तचाप, मधुमेहको समस्या, ढाड र घुँडा दुख्ने समस्या निम्त्याएको छ ।
साधारण मानिसको औकातले अस्पतालमा लाग्ने खर्च धान्दैन । यसकारण, परिवारको आर्थिक अवस्था नै डामाडोल हुन्छ । विभिन्न पत्रिकामा छापिएका स्वास्थ्यसम्बन्धी लेख पढ्नोस् त कसरी कुपोषित बालबालिकाको संख्या बढेको छ त्यसैले मैले जति लेखे पनि हुन्छ । अझ विदेशमा त ‘पोषण’सम्बन्धी पत्रिकाहरू नै निस्कन्छन् । पोषणबारे अनेक अध्ययन तथा अनुसन्धान गरिन्छ । हामीकहाँ त्यसरी पत्रिका ननिस्के पनि अहिले मानिसलाई भोजन र पोषणप्रति निकै चासो छ । यो स्वास्थ्यसँग सिधै जोडिएको हुनाले मानिसलाई जानकारी दिन लेखिरहन्छु नै ।’
मेरो यो लामो स्पष्टीकरण पति उनी अवाक् भए होलान् । तर, मलाई पोषणबारे लेख्नु भनेर प्रेरणा दिइरहने पाठकहरू पनि धेरै छन् । ‘तपाईंले लेखेको लेख पढेपछि मैले छोरीलाई घरमै बनाएको सातु खुवाउन थालेको छु । मैले कोल्ड ड्रिंक त खान छोडें, मेरो तौल पनि घट्यो । मैले आलस र तिल खान थालें । म घाममा पनि हरेक दिन बस्छु । जीउ दुख्ने र घुँडा दुख्न एकदम कम भयो,’ एक पाठकले प्रतिक्रिया दिएका थिए । योे प्रतिक्रियाले म झन् ऊर्जा थपिदियो ।

‘अरूणाले भनेर नहुने रहेछ, के गर्ने, पाहुनालाई नभई नहुने’ भन्ने मेरा साथीले केही दिनअघिको भोजमा ‘कोल्ड ड्रिंक’ दिएनन् । कागती, पुदिना र बिरे नुन हालेर सर्बत बनाएर खुवाए । घरमै बनाइएको फलफूलको रस खुवाए । तामाको रस, मार्सी भात, सिमीको रस, टिमुर र गोलभेंडाको अचार खुवाए । तउनले भने, ‘आज त अरुणाको लेख पढेर र खाना खुवाएजस्तै भयो ।’ म नि दंग परें, मेरा साथीमा समेत यति प्रभाव परेछ । वास्तवमै मेरो लेखनीले केही न केही काम त गरेछ ।

मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै सय केजी छ ।

पहिले माया गरेर छोरीले मागेजस्तो बजारीया र महँगो खाना दिँदा दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन् । चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थे । उनमा यस्तो कुराको लत बस्दै गयो । र, उनको तौल अस्वाभाविक रुपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् । त्यस्तै आमाबुबा पनि जंक फुडको लत छुटाउन लागिपरेका छन् ।

यस्ता त धेरै घटना छन् ।मेरा लेखले पाठकलाई पोषणबारे जानकारी दिई स्वस्थ हुन प्रेरित गर्छ त्यसैले म स्वस्थ खाना खानुको महत्त्वबारे लेखिरहन्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार