राजनीति
पार्टी एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादीको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बनिरहेका बेला एमालेभित्र भने प्रचण्डको गुट निर्माण भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अनुमान गरिएको थियो। तर अब दुवै नेता अध्यक्ष हुने सम्भावना बढेर गएको छ ।
एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितीमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन ।
तर पार्टी एकता प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने अडानमा छन् ।
यसअघिदेखि नै प्रचण्डसँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउनुपने पक्षमा छन् ।
अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र उनका पक्षधर नेताहरु पनि अध्यक्ष पद प्रचण्डलाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
पछिल्लो समय पार्टी एकता पर धकेलिदै गएपछि कतिपय ओली पक्षका नेताहरुसमेत एकता सफल बनाउनका लागि लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
पार्टीकै अर्का प्रभावशाली नेता तथा पूर्व अध्यक्ष झलनाथ खनाल पनि पार्टी एकता सफल बनाउनका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएका छन् ।