राजनीति
शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको देशका उत्कृष्ट शैक्षिक संस्था पुरस्कृत भएका छन् । माध्यमिक शिक्षा परीक्षा, कक्षा १०, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ तथा उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयले आइतबार पुरस्कृत गरेको हो ।
कक्षा १२ मा अमरसिंह मावि उत्कृष्ट
कक्षा १२ मा सामुदायिक विद्यालयतर्फ पोखराको अमरसिंह माविले प्रथम स्थान हासिल गरेको छ । उसले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गरी माध्यमिक सिल्ड, ध्वजा र तीन लाख नगर पुरस्कार प्राप्त गरेको हो । त्यसैगरी, सामुदायिकतर्फ दोस्रो हुने मोरङको सुकुना माध्यमिक विद्यालयले दुई लाख र तृतीय हुने पर्वतको भवानी विद्यापीठ एक लाख नगदसहित पुरस्कृत भएका छन् । संस्थागततर्फ कास्कीको एसओएस हर्मन माइनर मावि प्रथम, नेपाल पुलिस स्कुल साँगा दोस्रो र माइतीघरस्थित सेन्ट जेभियर्स कलेज तृतीय भएका छन् ।
एसइईमा मेघा मावि
सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा भक्तपुरको मेघा माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । सो विद्यालय माध्यमिक शिक्षा परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गरी माध्यमिक सिल्ड, ध्वजा र तीन लाख नगदसहित पुरस्कृत भएको छ । त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने गुल्मीको रेसुंगा माविले दुई लाख र तेस्रो हुने काठमाडौंको तरुण मावि एक लाख नगदसहित पुरस्कृत भए ।
संस्थागततर्फ माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा काठमाडौंको रिलायन्स इन्टरनेसनल एकेडेमी उत्कृष्ट भएको छ । त्यसैगरी, साँगास्थित नेपाल पुलिस स्कुल दोस्रो र नयाँ बानेश्वरस्थित भ्याली भ्यू इंग्लिस स्कुलले तेस्रो स्थान प्राप्त गरे ।
शिक्षालय र क्याम्पस पनि पुरस्कृत
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनोट भएका आंगिक, सम्बन्धनप्राप्त र सामुदायिक मावि गरी तीन शैक्षिक संस्था एक लाख नगदसहित पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, सम्बन्धनप्राप्तमध्येबाट तानसेन स्कुल अफ साइन्स र सामुदायिक माविबाट सिन्धुलीको जनज्योति मावि पुरस्कृत भए ।
विश्वविद्यालय अनुदान आयोगबाट छनोट भएका विश्वविद्यालयका आंगिक, सामुदायिक र सम्बन्धनप्राप्त क्याम्पससमेत दुई लाख ५० हजार नगदसहित पुरस्कृत भएका छन् । आंगिकमध्ये पुल्चोक क्याम्पस, सामुदायिकतर्फ लहानको जेएस मुरारका बहुमुखी क्याम्पस र निजीतर्फ काठमाडौं बर्नहार्ट कलेज पुरस्कृत भएका छन् । शैक्षिक संस्थाहरूलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताए ।
राष्ट्रपतिबाट विद्याभूषण प्रदान
शिक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यावारिधि गर्नेलाई नेपाल विद्याभूषण क, स्नातकोत्तर तहमा उत्कृष्ट विद्यार्थीलाई नेपाल विद्याभूषण ख र स्नातकमा उत्कृष्ट विद्यार्थीलाई नेपाल विद्याभूषण ग प्रदान गरेकी छिन् । राष्ट्रपतिबाट नेपाल छात्रा विद्यापदकसमेत प्रदान भएको थियो ।