राजनीति
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठकमा महत्वपूर्ण मन्त्रालयकै मन्त्रीहरु उपस्थित नभएपछि बैठक नै खल्लो सावित भएको छ । बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखिएकामा महत्वपूर्ण मन्त्रालयका सहित सात मन्त्री उपस्थित थिएनन् ।
दुईमध्ये एक उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिकामै छन् ।
वन मन्त्री शक्ति बस्नेत पनि अमेरिकामै छन् ।उर्जा मन्त्री वर्षमान पुन जापानमा छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मोन्ट्रियल गएका छन् ।
पाँच मन्त्री विदेशमा हुँदा दुई मन्त्रीहरु भने नेपालमै भएर पनि समीक्षा बैठकमा उपस्थित भएनन् । अर्थमन्त्री डा युवराज खतिवडा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन पुगेका थिए ।
खानेपानी मन्त्री बिना मगर पनि आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी थिइन् । सात मन्त्रालयका मन्त्रीहरु नै उपस्थित नभएपछि समीक्षा बैठक नै प्रभावित भयो ।
भौतक योजना मन्त्रालयको प्रगति विवरण मन्त्रालयका सचिवले पेश गर्दैगर्दा मन्त्री रघुवीर महासेठ बैठकबाट बाहिरिएका थिए ।
रन्किए ओली
ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउन यता सरकारका विभिन्न मन्त्रालयका कामको जानकारी लिएका थिए । उनी कुनै पनि मन्त्रालयको प्रगति विवरणप्रति सन्तुष्ट भएनन् ।
उनी रन्किए मन्त्रीहरुसंग । उनले सानातिना काममा नअल्झिई राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे मन्त्रीलाई हटाउने चेतावनी दिएका छन् ।
उक्त क्रममा उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए ।
उनले मन्त्रीहरुले आपसमा पनि समन्वय गर्न नसकेको भन्दै आक्रोश पोखे । उनले मन्त्रीहरुलाई एकले अर्कालाई दोष थोपरेर उम्कने बाटो नखोज्न चेतावनी दिए ।