logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ती महिला, जसलाई केपी ओलीले यसरी सम्म ढाँटे


  • पत्रपत्रिका
  • शनिबार, असोज ११ २०७६

काठमाडौं–‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए .

‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर ताली बज्यो। प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित छायाँको लस्कर पुस्तकको बिहीबार लोकार्पण भयो। उक्त कार्यक्रममा ओलीको राजनीतिक संघर्ष र जीवन भोगाइ उल्लेख गरे, डा. चौहानले। ‘एकपटक त केपी ओली कोठामा पुग्दा हन्हनी ज्वरो आएको थियो,’ डा. चौहानले भने, ‘सिटामोल किन्ने पैसा पनि थिएन उहाँसँग।’

कम्युनिस्ट पार्टीको झापा आन्दोलनका क्रममा ओलीसहित नेताका संघर्षका कथा, ओलीले लेखेका त्यतिबेलाका गीत÷कविता र खम्बूले आफ्नो जीवनका भोगाइ किताबमा उल्लेख गरेका छन्। राजनीतितिर उग्र चाहना भए पनि प्रधानमन्त्री ओलीकै सुझावमा अध्ययनतिर लागेका खम्बूले राजनीति गर्न भने छोडेनन्।

खम्बू महेन्द्र मोरङ विराटनगरमा अध्ययन गर्नेबेलाको कोठा ओलीको आश्रयस्थल नै थियो। संघर्षका पुराना दिन सम्झिँदै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘स्वास्थ्यलाई ध्यान दिन्नथे। यति सारो बाँच्छु भन्ने लागेकै थिएन, म त उहिल्यै मारिन्छु भन्नेमा थिएँ, तर बाँचिरहेको छु।’

सुरक्षाका दृष्टिकोणले भूमिगतकालमा नेताको नाम पनि भूमिगत नै हुन्थ्यो। वास्तविक नाम र जन्मस्थान फरक पार्दा फसादमा परेको एउटा घटना यसरी स्मरण गरे ओलीले। ‘विराटनगर खम्बूको कोठामा बस्दा छेउकै कोठामा एउटा नवविवाहित जोडी थियो। ती महिलाले मेरो नाम सोध्नुभयो। मैले कालीचरण भनेँ। थर के भन्नुभयो, ‘मैले बस्नेत भनेँ। घर कता सोध्नुभयो, मैले भोजपुर भने। अब भोजपुर कुन गाउँ भनेर उहाँले सोध्नुभयो भने म त फसादमा पर्छु भन्ने सोचिरहेको थिए। उहाँले त्यही सोध्नुभयो। यसो नाम सुनेको गाउँको नाम भनेको त त्यहाँ त उहाँको माइतीघर रहेछ, माइतीको थर पनि बस्नेत नै रहेछ। उहाँले अरू सोध्नुहोला भनेर मैले नै कुरा बंग्याएँ। र भनें हुन त घर भोजपुर हो, तर हाम्रो परिवार आसाममा बस्छ भनेर ढाँट्नु पर्‍यो।’

आफ्नो नियत गलत नभए पनि भूमिगतकालमा जस्ताको तस्तै भन्न नमिलेका कारण आफूले ती महिलालाई ढाँटेको ओलीले बताए। सुरक्षाकै कारण नेताले एउटा ठाउँमा एउटा नाम र अर्को स्थानमा पुग्दा अर्को नाम राख्ने गरेको पनि ओलीले स्मरण गरे। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार