चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लिएका छन्। भारतको दुई दिने भ्रमण सकेर राष्ट्रपति सी नेपाल आइपुगेका हुन्। राष्ट्रपति सी शनिबार दिउँसो ४ः ४५ मा ल्यान्ड भएको एयर चाइनाको विशेष विमानमा आएका हुन् । यसअघि चिनियाँ सुरक्षाकर्मी सवार विमान ४ः१० मा ल्यान्ड भएको थियो । राष्ट्रपति सी दोस्रो विमानमा आएको महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
राष्ट्रपति सी काठमाडौंमा ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल साढे दुई घण्टा प्रभावित भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले विज्ञप्ति जारी गर्दै अतिविशिष्ट मुभमेन्ट सम्बन्धी सूचना सार्वजनिक गर्दै ३ बजेदेखि साढे ५ बजेसम्म प्रभावित हुने जानकारी गराएका थिए।
राष्ट्रपति चिनफिङलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल जाँदैछन्। परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको समय तालिका अनुसार साढे ४ बजेपछि सोल्टी होटलमा राष्ट्रपति भण्डारीसँग सीको भेटवार्ता हुनेछ।
आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका नेतासँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।