logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वर्षा कम हुँदै चिसो बढेसँगै तनहुँ बन्दीपुरमा चहलपहल,दैनिक ३÷४ सय पर्यटक


  • राजनीति
  • बुधबार, असोज २९ २०७६

पोखरा-पर्यटकीय सिजन सुरु भएसँगै तनहुँ बन्दीपुरमा चहलपहल बढेको छ । वर्षा कम हुँदै चिसो बढेसँगै बन्दीपुर गुलजार हुन थालेको हो । असोजदेखि मंसिरसम्म बन्दीपुरमा विदेशी पर्यटक बढी आउने गर्दछ।

चाडपर्वका कारण घुम्ने संस्कृति विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय छ ।

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटक बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुर वनभोजका लागि समेत चर्चित छ । बन्दीपुरका होटलमा एकै पटक १ हजार ३ सयदेखि १ हजार ४ सय पर्यटकले रात बिताउन सक्छन् । ती होटलमा करिब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलबारे जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारी साधन निषेध गरिएको छ । पुराना घर भएकाले पनि विदेशी बढी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृंखला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका गन्तव्य हुन् ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । सुन्दर हिमशृंखला अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँ बताउँछन् । ‘२÷३ दिनमात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन्,’ उनले भने ।

काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इट्टाबाहिर देखिने प्यागोडा शैलीका घर यहाँको मुख्य आकर्षण छ ।

१८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर गरी ढुंगा बिछ्याएर बाटो बनाएका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । पुराना घरको आकर्षणले पर्यटक आकर्षित भएको भन्दै मौलिकता हराउन नदिन गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

गत वर्ष १ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका विदेशी पर्यटक बढी आउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार