राजनीति
काठमाडौं– भारतीय विदेशमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेकी छिन् । उनी बिहिबार अपरान्ह भारतीय वायु सेवाको विशेष विमानमार्फत काठमाडौं आएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्वराजले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । उनले भनिन्, ‘म कुनै एजेन्डा लिएर आएको होइन । यहाँका साथीहरुसँग भेटघाट गर्न आएको हुँ ।’
औपचारिक घोषणा नगरिएपनि भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत भएर काठमाडौं आएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्षकेपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग भेट गर्नेछिन् ।
उनको सम्मानमा एमालेले रात्रीभोज राखेको छ र, त्यहीँ भेटवार्ता हुनेछ ।स्वराजले राजपा नेताहरुलाई आजै भेट्नेछिन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।
नयाँ सरकार गठन हुनै लाग्दा भएको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

