logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अमेरिकी सेनाले पछ्याए पछि सुसाइड ‘भेस्ट’ पड्काएर मरे बग्दादी


  • एजेन्सी
  • सोमबार, कार्तिक ११ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका उच्च नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेका छन् । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी उनले सो घोषणा गरेका हुन् ।
आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिकी सेनाले सिरियामा भएको एउटा अपरेसनमा बग्दादीलाई मारेका छन् ।’  बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको जानकारी दिएका छन्।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले बग्दादी शनिबार राती सिरियामा मारिएको पुष्टि गरेका हुन्।

आइतबार दिउँसो बग्दादी मारिएको खबर सार्वजनिक भए पनि यसबारे साँझ ट्रम्पले आफैं जानकारी दिने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको थियो।

पत्रकार सम्मेलनमा ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए। सोही क्रममा उनका तीन सन्तानको समेत निधन भएको ट्रम्पले बताए। घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएका थिए। सोही अपरेशन क्रममा अमेरिकी सैन्य विमान तथा हलिकप्टरले बग्दादी बसेकाे ठाउँमा आक्रमण गरेका थिए। आक्रमण क्रममा अमेरिकी सेनाहरू विमान तथा हेलिकप्टरबाट झरेर बग्दादी बसेको घरमा गोली हानेका थिए।

यसपछि बग्दादी आफू बसेको ठाउँबाट आफ्ना तीन सन्तानसहित भागेर एउटा सुरूङभित्र छिरे। सुरूङ एकतर्फी मात्र भएकाले उनीहरू उम्किन सकेनन्। बग्दादीहरू सुरूङभित्र छिरेपछि अमेरिकी सेनाका कुकुरहरू पछिपछि लखेट्दै भित्र छिरेका थिए। भाग्न सक्ने अवस्था नभएपछि बग्दादीले आफ्नो शरीरमा लगाइराखेको सुसाइड भेस्ट पड्काउँदा उनीहरू मारिएको ट्रम्पले जानकारी दिएका छन्।

‘बग्दादी डरपोक भएर मर्यो। अब संसार धेरै सुरक्षित महशुस भएको छ,’ ट्रम्पका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘बग्दादी पछिल्लो समय खुबै डराएको थियो। उसलाई अमेरिकी शक्तिले परास्त गर्छ भन्ने ठूलो डर थियो।’

ट्रम्पका अनुसार केही साताअघिदेखि नै बग्दादीमाथि नजर राखिएको थियो। आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ‘ल्याब’ नै बोकेर गएको पनि बताइएको छ।

धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। बग्दादीको सही पहिचान गर्न अमेरिकी सेनाले उनको डिएनए घटनास्थलमै लिएर गएका थिए। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका छन्।

बग्दादी बसेको घरमा हमला गर्दा त्यहाँ भएका ११ जना केटाकेटीलाई सुरक्षित बाहिर निकालिएको पनि ट्रम्पले जनाएका छन्।

गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो। रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए।

भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका थिए। साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका थिए। उनी सन् २०१४ यता देखिएका थिएनन्। सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए।

को हुन् बग्दादी?

आइसिस प्रमुख बग्दादी संसारकै प्रमुख ‘वान्टेड’ व्यक्ति थिए। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतंकवादी गतिविधि चलाउँदै आएको थियो।

आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४५ जना विदेशी थिए।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। त्यस्तै अमेरिकी सेनाले नेतृत्व गरेको संयुक्त फौजले अफगानिस्तानमा १० वर्ष लामो युद्धमा अलकाइदामाथि ठूलो क्षति पुर्याएको छ।

सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्थ्यो। उनी सुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार