राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र बैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् ।
माघ २२ गते दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने सहमति भएको छ । छलफलमा क्रान्तिकारी माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य र नेकपाका तर्फबाट स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डसहितको टोली सहभागी रहेको थियो ।
छलफलमा दुई पार्टीका बीचको एकताका बारेमा कुरा भएको बताइएको छ । साथै एकता सम्पन्न नभएसम्मका लागि दुई पार्टीले कार्यगत एकता गर्ने सहमति भएको छ । सो अनुसार फागुन १ गते दुबै पार्टीको संयुक्त कार्यक्रम आयोजना गर्ने बताइएको छ । २०५२ साल फागुन १ गते नेपालमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्धको थालनी भएको थियो । सो दिनलाई माओवादी पार्टीहरुले भव्य दिवसका रुपमा मनाउँदै आएका छन् । यसपटक पनि दुई पार्टीले फागुन १ गते संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन् ।