राजनीति
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे।
यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तके छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’, अध्यक्ष बिजुक्छेले भने।
भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणलाई प्रचण्डले अन्तर्राष्ट्रियकरण गर्न पर्दैन, कूटनीतिक वार्ता गर्नुपर्छ भन्नु नै प्रधानमन्त्रीको लाइनमा रहेको पुष्टि हुने उनको भनाइ थियो।
तर कूटनीतिक वार्ता गर्दा हिजो सुस्तामा आधा भूभाग गुमाउनुपरे जस्तै अहिले प्रचण्डले प्रधानमन्त्री पाउँदा लिम्पियाधुरा र कालापानी पनि नेपालले आधामात्रै पाउने सम्भावना रहेको उनले स्पष्ट पारे।
अध्यक्ष बिजुक्छले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान ढिलाइ भइरहेको भन्दै सरकारको कडा आलोचना गरे। सीमा अतिक्रमण मुद्दामा कूटनैतिक वार्ता भन्ने नै नहुने उनको जिकिर थियो।
एक फरक प्रसंंग मा उनलेे १० वर्षे जनयुद्धका बेला प्रचण्ड आठवर्ष त भारतको एक पाँचतारे होटलमा बसेको सुनाए। शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही होटलका कर्मचारीले ‘तपाईको प्रधानमन्त्री प्रचण्ड यहीं कोठामा आठ वर्ष बस्नुभएको थियो’ भनेको उनले सुनाए।
‘जनयुद्धका बेला प्रचण्ड भारतको एक पाँचतारे होटलमा आठ वर्ष बसेका थिए तर नेपाली जनतालाई जंगलमा बसेको, गुरिल्ला युद्ध गरेको भनेर भ्रम छरियो’, अध्यक्ष बिजुक्छेले भने, ‘माओवादीहरुलाई भारतले नै सबै तालिम दिएको हो। माओवादीले दस वर्षसम्म भारतकै दानापानी खाएका थिए। अब फेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने खोजिरहेको छ।’
उनले भारतले भनेजस्तो गरे देश सकिने र नगरे प्रचण्ड सकिनेबारे आफूले उनीहरुलाई पहिल्यै सचेत गराएको सुनाए।