logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औ साग पोखरा : नेपाली महिला फुटबल टोली पराजित हुँदा धुरुधुरु रोइन् मन्त्री पुन


  • रासस
  • सोमबार, मंसिर २३ २०७६

चिप्लेढुङ्गा : आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो। दिउँसो १:०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो। खेल शुरु अघि नै प्यारापिटमा नेपाली झण्डा बोकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए। खेल शुरु भयो। भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो। भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो।

आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफी प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे। खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो। मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे।

मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहेकी मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सक्नुभएन। आँखाभरी आँशु पार्दै उहाँले नेपाली खेलाडीलाई मेडल वितरण गरिन्।

मन्त्री पुनले आँशु पुछ्दै भनिन्, ‘नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरुको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरु निराश हुँदा मेरो आँखामा आँशु रोकिएन।’ उनले थपिन्, ‘नेपाली छोरीहरुको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँशु थाम्न सकिन।’ मन्त्री पुनले नेपाली खेलकूदमा लगानीको खाँचो रहेको बताइन्।

मन्त्री पुनले भनिन्,’नेपाली महिला फुटबल खेलाडीको उत्साहले मलाई निकै गर्व लागेको छ।’ आउने दिनमा उनीहरुलाई हामीले लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरुबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको उनको प्रतिक्रिया थियो। उनले हारजित स्वभाविक हुने भन्दै सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको र भारतको टोलीलाई जित्न सफल भएकामा बधाई दिइन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार