logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाली स्याट-१ ले लियो तीन मुलुकको तस्बिर : नेपालको आकाश बाट भने असफल


  • रासस
  • सोमबार, मंसिर ३० २०७६

पोखरा- नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर  लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।

करीब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्बिर  लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भने, “नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनौ । सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन ।” नाष्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरीद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताए ।

नाष्टले आफ्ना प्राविधिक इञ्जिनीयरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ । नाष्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्याङ्क सङ्कलन गरेर अध्ययन गर्दा ती तस्वीर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार