राजनीति
सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड पार्टीलाई गति दिलाउन पार्टी भित्रकै नेताहरुसँगको तिव्र आन्तरिक छलफलमा छन् । ४ मंसिरमा पार्टी हाँक्ने गरी सचिवालयबाट जिम्मेवारी पाएपछि उनले पार्टीभित्रका अनेक समस्या समाधानको सूत्र पहिल्याउनका लागि शीर्ष नेताहरुसँगको छलफललाई घनीभूत बनाएका छन् ।
पार्टी कामको जिम्मेवारी पाएपछि प्रचण्डले अबरुद्ध पार्टी संगठनको ट्रयाक खोलिसकेका छन् । एक वर्ष देखि बस्न नसकेको स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बराहीमा एक साता सम्म राखेर पार्टीलाई गतिशिल बनाईसकेका मात्र छैनन, लामो समय देखि बस्न नसकेको केन्द्रीय समिति बैठक पनि बोलाईसकेको छन् ।
केन्द्रीय समिति बैठक प्रचण्डले २३ पुसमा काठमाडौंमा बस्ने गरी बोलाएका छन् । उनले स्थायी समिति बैठकमा देखिएको जोडकोणलाई सुक्ष्म अध्ययन गदै नेताहरुको मनोविज्ञान र निरन्तरको परामर्शकै आधारमा पार्टीका आगामी योजना तयार पार्ने नीति लिएका छन् ।
उनले पार्टीका प्रायः सबै शीर्ष नेताहरुसँगको औपचारिक अनौपचारिक छलफल घनिभूत बनाएका छन् । सकभर विवादमुक्त बनाई पार्टीका बैठकहरु आयोजना गर्ने, बढी भन्दा बढी नेताहरुका सुझाव समेत लिएर पार्टीलाई सामुहिकतामा गति दिने योजनामा प्रचण्ड देखिएका छन् ।
स्थायी समितिमा प्रस्तुत राजनीतिक प्रतिवेदन तयार पार्ने क्रममा पनि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली देखि सचिवालयका अन्य शीर्ष नेताहरु र प्रभावशाली नेताहरुका बीचमा अनेकन छलफल र परामर्श पनि उनले गरेका थिए । जसकारण उनले तयार पारेको र ओलीको समेत सहमति रहेको राजनीतिक प्रस्ताव सर्वसम्मत स्थायी समिति बैठकले पारित गरेको थियो ।