logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलि र दाहाललाइ छुट्टाछुट्टै दवाव को बन्ला सभामुख ?


  • पत्रपत्रिका
  • शुक्रबार, पुष ११ २०७६

काठमाडौँ । आज पुस ११ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सभामुख चयनमा देखिएको अन्यौलताका बारेमा समाचारहरु प्रकाशित छन् ।

नयाँ सभामुख कसलाई बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया केही दिन धकेलिने भएको कान्तिपुर दैनिकमा छ । गत ४ गते बसेको प्रतिनिधिसभा बैठकले सभामुख चयनको कार्यतालिका शुक्रबार तय गरेको थियो । नेकपाका अध्यक्षद्वयको छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी संसद् सचिवालयले गरेको छ । पूर्व एमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेपछि टुङ्गो गर्न दुई अध्यक्षलाई सकस परेको हो । यो विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच संवाद भएन । बुधबारै गृहजिल्ला चितवन गएका दाहाल बिहीबार पनि उतै बसे । नेकपाको सचिवालयले सभामुखको टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो ।

नागरिक दैनिकका अनुसार सभामुख निर्वाचन मिति तय गर्ने गरी शुक्रबार प्रतिनिधिसभा बैठक बस्न लागे पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएका कारण अन्योल बढेको छ । उनले बिहीबारसम्म राजीनामा नदिएका कारण सभामुख निर्वाचन मितिसमेत धकेलिने सम्भावना उत्तिकै छ । एकातिर सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा शीर्ष नेतृत्वमा सहमति जुटिसकेको छैन भने अर्कोतिर उपसभामुख तुम्बाहाङ्फेले समेत राजीनामा दिन इन्कार गरिरहेका कारण सभामुख चयन अन्यौलमा देखिएको हो । तुम्बाहाङ्फेले सदनको बैठक सञ्चालन गरेर सभामुख निर्वाचन मिति तोकेमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुख नेकपाको कायमै भएकाले सभामुखमा उसले दाबी गर्न नपाउने संविधानको व्यवस्थालाई उठान गर्ने निश्चित छ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ। दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। संसदीय प्रक्रिया जानेको, सरकारसँग समन्वय गर्न सक्ने र कानुन तथा संविधानमा जानकार भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान ओलीको छ। चितवन पुगेका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम थियो। दाहाल फर्केलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गरेर नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने नेताहरूले बताएका थिए। तर बिहीबार दिउँसो साढे तीन बजे काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम दाहालले एकाएक रद्द गरे। दाहाल शुक्रबार फर्केपछि सभामुखबारे निर्णायक छलफल हुने र सचिवालय बैठकबाट अनुमोदन गरिने नेताहरू बताउँछन्। दाहाल चितवनमै रहेका बेला पूर्वमाओवादीका एक दर्जन बढी नेताहरूले टेलिफोन गरेर ‘सभामुखबारे निर्णय के हो रु शक्ति सन्तुलनका लागि सभामुखमा पूर्वमाओवादीको कोटा छोड्न नहुने’ सुझाव दिएको स्रोतले बतायो। ‘हाम्रो अडान कायमै छ। टुंगो लागेको छैन’ भन्दै दाहालले नेताहरूलाई जबाफ फर्काएको दाहालको सचिवालयका एक सदस्यले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार