logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आज तमुहरुको नयाँ बर्ष तमु ल्होसार

फो ल्हो मृग वर्गलाई बिदाइ र च्यू ल्हो मुसा वर्गको स्वागत


  • आश तमु
  • मंगलबार, पुष १५ २०७६

आश तमु ,पोखरा – हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् ।तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना : राष्ट्रपति विद्यादेवी भण्डारी

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान पर्व ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

तमू ल्होसारका अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न समेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन् ।

यसै उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताएका छन् ।

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरे ।

नयाँ वर्षका रूपमा गुरुङ समुदायले मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् ।

सांस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौँदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउँदै उनले सन्देशमा भनेका छन्, “यस वर्ष तमु जातिले फो ल्हो मृग वर्गलाई बिदाइ र च्यू ल्हो मुसा वर्गको स्वागत गर्दै नयाँ वर्ष मनाउँदैछन् ।”

गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा पुस १५ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार