पोखरा- पूर्वगोर्खा सैनिकहरूको संयुक्त सत्याग्रह संघर्ष समितिले बेलायती फौजमा नेपाली जवानको भर्तीमा रोक लगाउने घोषणा गरेको छ।
समान कामका लागि समान ज्याला मागी आन्दोलन गर्दै आएको पूर्वगोर्खा सैनिकहरूले माग पूरा नभएसम्म भर्तीमा रोक लगाउने घोषणा गरेको हो ।
वार्ताका लागि समिति गठन गर्न नेपाल र बेलायतका दुवै सरकारलाई अल्टिमेटम दिए पनि सुनुवाइ नभएको भन्दै संघर्ष समितिले नयाँ भर्ती रोक्ने निर्णय गरेको हो ।
बेलायत सरकारले आउने साता पोखरामा गोर्खा रेजिमेन्टका लागि नेपाली युवालाई भर्ती गर्दै छ । ‘माग पूरा नभएपछि भर्ती अभियानलाई रोक्ने निर्णयमा पुगेका हौं,’ संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने । समान पेन्सन नदिएको भन्दै पूर्वगोर्खाले बेलायत सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।