राजनीति
सत्तारूढ दलका नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले सार्वजनिक यातायात एम्बुस जस्तैै भएको भनी आक्राेश ब्यक्त गरेका छन् ।
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठकमा सार्वजनिक यातायातको बेथितिबारे प्रश्न उठेको छ। राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले एम्बुसरह भएका सार्वजनिक बसहरुका कारण कयौँ मानिसको ज्यान गएको बताएका छन्।
राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन्। ‘सार्वजनिक बसहरू एम्बुसभन्दा कम छैनन्, पाँच वर्षको अवधिमा १० हजार मान्छे मरिसके’, उनले भने, ‘व्यवसायीसँगको सरकारी साँठगाँठ बन्द गरियोस्। काठमाडौंमा गुडेर थोत्रिएका बसहरु गाउँमा पठाउँदै अनाहकमा ज्यान लिने काम बन्द गरियोस्।’
गाउँले र सहरिया सबै मान्छे उस्तै भएको बताउँदै सरकार र व्यवस्थाका लागि कोही पनि अकालमा मर्न नुहने जिकिर गरे। ‘सरकार र व्यवस्थाका कारण कोही मर्यो भने के गर्ने? लापरवाही या हेलचेक्राइँ गरेर मान्छे मार्न पाइँदैन’, उनले थपे, ‘२०७१ देखि २०७५ सम्म सवारी दुर्घटनामा १० हजार मान्छे मरे। किन चढेको त बसमा? किन हिँडेको कारमा? भनेर सरकार पन्छिन पाउँदैन।
सार्वजनिक बसहरू एम्बुसभन्दा कम छैनन्, पाँच वर्षको अवधिमा १० हजार मान्छे मरिसके। व्यवसायीसँगको सरकारी साँठगाँठ बन्द गरियोस् ।