logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिक्लेसको माघे संक्रान्ती मेलाको जनविश्वास : सयजना मानिसलाई हेरेमा मनले चिताएको पुग्ने


  • आश तमु
  • सोमबार, पुष २८ २०७६

पोखरा- सय वर्ष भन्दा अघि देखी कास्कीको रमणीय पर्यटकीय स्थल गुरुङ गाउ सिक्लेसमा चल्दै आएको माघे संक्रान्ती मेलालाई स्थानीय युवा क्लव श्री सिक्लेस युवा क्लवले यस वर्ष पनि निरन्तरता दिने भएको छ  । यही माघ १ गते देखी ४ गते सम्म   सिक्लेसमा हुने  मेलामा विभिन्न सास्कृतिक कार्यक्रम संगै खेलकुद कार्यक्रम पनि हुने आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताएका छन ।

क्लवका पुर्व सचिव एव सल्लाहकार देवीजंग गुरुगले मेला अवधी भर पुरुष महिला भलिवल ,बास्केटबल ,खुल्ला सामुहिक नित्य प्रतियोगिता लोपोन्मुख घुर्रा घुमाई प्रतियोगिता ,रस्साकसी ,आमा समुहको ह्याकुचे ,भाग्यमानी चिठा कार्यक्रम रहेको बताए।

उनले ४५० घर धुरी रहेको गाउमा होमस्टे र होटल पनि रहेको हुदा मेलामा आउने पाहुनाहरुलाई आवासमा कुनै समस्या  नहुने पनि बताए।

पूरुष बास्केटबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५  उपबिजेता टिमलाई ४४ हजार, ४ सय ४४ प्रदान गरिने जानकारी दिए । त्यस्तै महिला भलिबल तर्फ प्रथम टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार र द्धित्तीय बन्ने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिनेछ ।

खुल्ला छेलो प्रतियोगिता तर्फ बिजेता खेलाडीलाई ले  ४० हजार र उपबिजेता बन्ने खेलाडीले ३५ हजार प्राप्त गर्ने बताउदै उनीहरुलाई बाजागाजा सहित गाउँ घुमाउने परम्परा रहेको बताए ।

त्यस्तै खुल्ला सामुहिक नृत्य तर्फ प्रथम बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ४० हजार, द्धित्तीय बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ३० हजार र ट्रफी तथा प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्नेछ । उनले उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट भेषभुषालाई ट्रफी तथा प्रमाणपत्र सहित जनही ५÷५ हजार प्रदान गरिने बताए ।

प्रचलित संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गराउँदै यसका मौलिकता जोगाउने उद्देश्यले सय वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेको माघे सङ्क्रान्ति मेलालाई स्थानीय सिक्लेस युवा क्लबले निरन्तरता दिँदै गुरुङले जानकारी दिए।“सय वर्षयता स्थानीयवासीले केही न केही रूपमा मेलालाई निरन्तरता दिँदै आएका थिए,” उनले भने, “पछिल्ला २५ वर्षयता स्थानीय सिक्लेस युवा क्लबको सक्रियतामा मेलालाई अघि बढाइएको छ ।”

दुई महत्वपूर्ण धार्मिक तीर्थस्थल म्हउदु र फैमक्यु

मेलाका सम्बन्धमा छुट्टै मौलिक कहानी एवं प्रचलन छ । यहाँका दुई महत्वपूर्ण धार्मिक तीर्थस्थल म्हउदु र फैमक्युमा प्रत्येक वर्ष पुसको अन्तिम दिन स्थानीयवासी जुटेर सरसफाइ गर्दछन् । सरसफाइ गरेपछि म्हउदुमा उन नकाटेको भेडाको बलि दिइन्छ । बलि दिएपछि यहाँ मूल फुट्ने जनविश्वास छ ।

प्रचलनअनुसार मूल फुटेका तीर्थस्थलमा पुसको अन्तिम दिन रातको १२ बजेदेखि यहाँ स्नान गर्नेको भीड लाग्दछ । रातमा स्नान गरेका तीर्थालुले माघको १ गते सङ्क्रान्तिका दिन एक सयजना मानिसलाई हेरेमा मनले चिताएको पुग्ने जनविश्वासकै आधारमा एक सय वर्षपहिलादेखि सिक्लेसमा माघे सङ्क्रान्ति मेला लाग्ने गरेको स्थानीय बूढापाकाको तर्क छ ।

सिक्लेसमा लाग्ने माघे सङ्क्रान्ति मेलाको आफ्नै महत्व रहेको सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष सुवेदार रनबहादुर गुरुङले बताए। प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँ सिक्लेसको प्रवद्र्धनका लागि पछिल्लो समयमा मेला बहुउपयोगी बन्दै गएको उनले बताए।

मौलिकतायुक्त यहाँका प्रकृति र संस्कृतिका साथै युगौँदेखि चल्दै आएको मेलालाई पछिल्ला पुस्तासम्म हस्तान्तरण गर्ने सोचका साथ क्लबले यस वर्ष पनि माघ १ देखि ४ गतेसम्म मेला गर्ने भएको मेला संयोजक एवं क्लबका सचिव बेलप्रसाद गुरुङले जानकारी दिए। मेलाका अवसरमा सिक्लेसका प्रकृति, संस्कृतिका साथै यहाँबाट नजीकै रहेको नेपालकै कम उचाइमा रहेको क्हफुचे हिमतालको समेत प्रचारप्रसार गर्ने लक्ष्य राखिएको उनले बताए।

पर्यटकीय स्थल गुरुङ गाउ सिक्लेस

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने ४५० घरधुरी रहेको यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ । लमजुङ हिमालको काखमा लुट्पुटिएको यो गाउँ वरिपरिको हरियो वनजङ्गलका कारण पाइने चराचुरुङ्गी र वन्यजन्तुका कारण पर्यापर्यटनमा पनि उत्तिकै आकर्षक छ ।

यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यहाँ पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजमुज्ज तर अत्यन्त सफा र सुन्दर नमूना बस्तीले पर्यटकलाई यात्राको थकाइ बिर्साउने गरेको छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा चासो दिइएका कारण बाटाघाटा, घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि सिक्लेस पुग्ने गरेका छन् । गुरुङ संस्कृतिको अध्ययन, अवलोकन एवं अनुसन्धानका लागि यहाँस्थित सिक्लेस इको म्युजियम पनि उपयोगी बनेको छ ।

गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्री देख्न पाइने सङ्ग्रहालयमा गाउँ आसपासमा पाइने कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टिमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा पर्यटकले हेर्न तथा जानकारी लिन पाउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार