logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महान महिला लडाकु, जस्ले पुरुषकाे भेषमा पहिलो विश्वयुद्ध लडिन्


  • एजेन्सी
  • आइतबार, माघ ५ २०७६

विश्व सैन्य इतिहासमा मिलुन्का साभिच (सन् १८८८–१९७३) लाई नायिकाका रूपमा स्मरण गरिन्छ । बाल्कन युद्ध र पहिलो विश्वयुद्ध लडेकी सर्बियाली साभिच वीरांगना थिइन् । सर्बियाले उनलाई देशको सबैभन्दा महान् लडाकू घोषणा गरेको थियो ।

सन् १९१३ मा दोस्रो बाल्कन युद्धमा उनको भाइलाई युद्धमा बोलाइयो । साभिचले भाइको सट्टा आफू जाने निर्णय गरिन् । र, युद्धमा होमिइन् । उनले कपाल काटेर पुरुषले झैँ छोटो बनाइन् । पुरुषकै पोशाक र भेषमा सर्बियाली सेनामा आबद्ध भइन् । उनले पहिलो लडाइँमै बहादुरी देखाइन् र तक्मा पाइन् । कर्पोरलमा बढुवा भइन् ।

अर्को एउटा युद्धमा उनी घाइते भइन् र अस्पताल भर्ना भइन् । त्यहाँका डाक्टर र नर्सले बल्ल उनी पुरुष नभई महिला भएको थाहा पाए । त्यसपछि त्यहाँ हंगामा मच्चियो ।

उनलाई कमान्डिङ अधिकृतका अगाडि उभ्याइयो । तर, अधिकृतले उनलाई सजाय दिन चाहेनन् । किनभने, उनले बहादुर सैनिकको भूमिका निर्वाह गरेकी थिइन् । उनको बटालियनका लागि उनी महत्त्वपूर्ण योद्धा थिइन् । अधिकृतले उनलाई नर्सिङ विभागमा पठाउन खोजे तर उनले मानिन् । त्यसपछि उनलाई लडाकू दस्तामै पठाइयो ।

त्यसपछि उनले प्रथम विश्वयुद्ध लडिन् । अभूतपूर्व बहादुरी देखाइन् । उनले सर्बियाको सर्वोच्च सम्मान मात्र प्राप्त गरिनन्, फ्रान्स, रुस र ब्रिटेनका महत्त्वपूर्ण तक्मा र उपाधि पनि हासिल गरिन् । उनलाई फ्रेन्च सरकारले आफ्नो देशको नागरिक बन्न अनुरोध गर्‍यो र आकर्षक पेन्सन दिने बतायो । तर, उनले सर्बिया छाड्न चाहिनन् । सर्बियाका केही सडक उनका नाममा नामकरण गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार