logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी : फरार सुचिमा राउत वरिष्ठ उपरीक्षक सुवेदी


  • राजनीति
  • सोमबार, माघ ६ २०७६

पोखरा- जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ। आइतबार प्रशासनले राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार अब राउत औपचारिक रूपमै प्रहरी खोजी सूचीमा परेकी हुन्।सुवेदीले प्रहरीमा जाहेरी परेपछि जोकोही पनि खोजी सूचीमा रहने र पक्राउ नपरिसकेको अवस्थालाई ‘फरार’ भनिएको हो। राउत अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बुझिएको छ।

‘उहाँलाई खोज्न प्रहरी परिचालन गरिएको छ,’ सुवेदीले भने।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको थियो।प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो।अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडियो तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको थियो।

उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। मेट्रोले उक्त प्रतिवेदनमाथि कारबाही गर्न परिसर पठाएको थियो।त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो। कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार