राजनीति
एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको थियो। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न निक्कै कठिन भएको थियो । अन्ततः रामबहादुर थापा गृहमन्त्री बनेका छन । बादल गृहमन्त्री बन्नुमा प्रभाकरको भुमिका महत्त्वपूर्ण रहेको माओवादी केन्द्र स्रोत बताउछ ।
माओवादीबाट गृहमा रामबहादुर थापा (बादल), वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका थिए । थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए। तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने तयारीमा छलफल चलेपछि माओवादीभित्र ‘गृहमा मोह’ बढेको थियो।
माओवादीभित्र गृह मोहमा नेताहरूको आन्तरिक द्वन्द्वले पनि प्रभाव पारेको नेताहरू स्वीकार्छन्। थापा विगतमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण यसपटक गृह आफूले लिएर सरकारको नेतृत्व पार्टीका तर्फबाट गरेर जान चाहेका नै थिए तर, पुन थापालाई अन्य मन्त्रालयमा अचेटेर आफैं गृहमन्त्री हुने लबिङमा थिय । उता गृहकै दाबी गरिरहेका अर्का नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा भने पुनलाई गृहमा रोक्ने तयारीमा थापालाई स्वीकार्ने पक्षमा उभिएपछि माओवादीभित्रको गृह लफडा रोचक बनेको थियो।
आफै पनि गृहको गोल गर्ने मैदानमा रहेका जनार्दन शर्माले पुनलाइ रोक्ने सर्तमा थापालाइ समर्थन गरेको स्रोतको दावी छ । यसरी हेर्दा प्रचण्ड रेफ्री रहेको खेलमा प्रभाकरको पासले थापाले निर्णयाक गोल गरेको बुझिएको छ ।
माओवादी स्रोतका अनुसार, पुनले आफूले गृह नपाए पछि संघीय संसद् (प्रतिनिधिसभा) को सभामुखमा श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीलाई दोहो¥याउनुपर्ने लबिङमा छन्। तर, सभामखुमा माओवादीभित्रै नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम पनि आउन थालेपछि पुनले गृहमै अडान लिइरहेका थिए तर बाजि भने थापले मारे।
गृह मन्त्रालयमा नेताहरूको मोह देखिनुमा यसभित्रको स्रोत साधान परिचालनदेखि सेवा सुविधा नै प्रमुख कारण हो। गृहको आकर्षण भनेकै प्रहरी परिचालन, जिल्लाका सीडीओ परिचालन, दैनिक लाखौं रुपैयाँसम्म सुरक्षाका नाममा खर्च गर्न पाउने, आर्थिक सहायता दिने अधिकार राख्नेदेखि अरू मन्त्रालयको क्षेत्राधिकार नपरेका क्षेत्रसमेत हेर्न पाउने भएकाले गृहमा नेताहरूको मोह देखिनु स्वाभाविक हो।