पोखरा – नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार भएका छन । सभापति शेरबहादुर देउवाले बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा २ उपसभापति र ५ महामन्त्री थपेका छन् ।
देउवाले उपसभापतिमा तुलसा पन्त झापा र मुक्तिराज पौडेल रुपन्देहीलाई मनोनित गरेका छन्।त्यस्तै महामन्त्रीमा दीपक भट्टराई तनहुँ, उर्मिला थपलिया धादिङ, प्रभातकुमार दाहाल मकवानपुर, बलदेव तिमल्सीना सिन्धुपाल्चोक र युवराज पाण्डे स्याङ्जालाई मनोनित गरेका हुन्।
नेता कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा उपसभापतिमा पन्त र पौडेल तथा महामन्त्रीमा तिमल्सीना र पाण्डेलाई देउवाले मनोनित गरेका हुन् । त्यस्तै नेता रामचन्द्र पौडेल समूहको सिफारिसमा देउवाले भट्टराई, थपलिया र दाहाललाई महामन्त्रीमा मनोनित गरेका हुन् ।
१० माघमा कांग्रेस शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति पदाधिकारीसहित १२७ सदस्यीय बनाउने सहमति बनेको थियो। समितिमा९ महामन्त्री, ६/६ सहमहामन्त्री बनाउने सहमति गर्दै नेताहरुले भागबण्डा गरेका थिए। सभापति देउवा समूहले अध्यक्षसहित ३ महामन्त्री तथा २/२ उपसभापति र सहमहामन्त्री लिने, पौडेल समूहले ३ महामन्त्री र २/२ सहमहामन्त्री लिने, सिटौला समूहले महामन्त्री, उपसभापति र सहमहामन्त्री २/२ जना लिने सहमति भएको थियो। उपसभापति विजयकुमार गच्छदारलाई १ महामन्त्री दिने सहमति नेताहरुले गरेका थिए।
त्यही सहमति अनुरुप पौडेल र सिटौला समूहको सिफारिसमा देउवाले तदर्थ समिति विस्तार गरेका हुन् ।