logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपामा एकाएक शक्तिशाली बामदेव ?


  • पत्रपत्रिका
  • मंगलबार, माघ २१ २०७६

सत्तारूढ दल नेकपा काे बैठकबाट उपाध्यक्ष बनेका बामदेव गाैतम एकाएक शक्तिशाली भएका छन् उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्।

नेकपामा करिब आठ लाख संगठित सदस्य छन्। संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ। उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ।

विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ। विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं। प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ। साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभाग बनाएको थियो ।

त्यसपछि २९ असोजमा विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थपिएका थिए। त्यसपछि बनेको नियमावलीअनुसार विभाग ३५ सदस्यीय रहने व्यवस्था गरियो। ३० असोजमा बसेको विभागको पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम, पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिताजस्ता विषयमा कार्ययोजना बनाई सचिवालयमा पेस गरेको थियो । त्यसअनुसार संगठन विभागलाई शक्तिशाली बनाउन नेकपाले पार्टी नियमावलीमै परिवर्तन ग-यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार