इस्लामिक देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अस्वीकार गरेको छ । केहीअघि मात्र ट्रम्पले मध्यपूर्वको लागि भन्दै शान्ति योजना अगाडि सारेका थिए । उक्त योजनालाई इस्लामिक देशहरुले अस्वीकार गरेसँगै मध्यपूर्वमा नयाँ ध्रुबिकरण देखिएको छ ।
ओआईसीले ट्रम्पले अगाडि सारेको योजनालाई सहयोग नगर्न इस्लामिक देशहरुलाई निर्देशन दिइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ओआईसीमा विश्वका ५७ देशहरु संगठित छन् । ओआईसीले विश्वका करिब डेढ अर्ब मुसलमानहरुको प्रतिनिधित्व गर्दछ ।
सोमबार जेद्दामा भएको बैठकपछि ओआईसीले अमेरिका–इजरायल योजना अस्वीकार गर्ने बताएको हो । यो योजनाले प्यालेस्टिनी जनताको वैध अधिकार र अपेक्षा पूरा नगर्ने र शान्ति प्रक्रियाका शर्तहरु उल्लंघन हुने भएकोले ट्रम्पको योजना स्वीकार गर्न नसकिने ओआईसीले बताएको छ ।
ट्रम्पको योजनामा पूरै जेरुसेलम शहरमा इजरायलको अधिकार हुनेछ र इजरायल प्यालेस्टिनी जमिनमा बसाइएको यहुदी बस्तीलाई पनि आफ्नो नियन्त्रमा लिन सक्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको यस योजनाअनुसार इजरायलसँग अभिभाजित जेरुसेलम रहन्छ र प्यालेस्टिनले इजरायलको कब्जावाला पूर्वी जेरुसेलम नजिक राजधानी घोषणा गर्न सक्छ ।
ट्रम्पको योजनालाई ओआईसीले चुनौती दिँदै इजरायलको कब्जामुक्त भएमात्र मध्यपूर्वमा शान्ति हुने निष्कर्ष निकालेको छ । मध्यपूर्वको संघर्षको जड नै इजरायल र प्यालेस्टाइनबीच जारी विवादलाई मानिँदै आएको छ ।
सोमबार जेद्दामा बसेको ओआईसीको बैठकमा इरान भने सहभागी थिएन । यद्यपि इरानले पहिलेदेखि नै अमेरिकाको शान्ति योजनाको आलोचना गर्दै आएको छ ।