logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हिउँमै परेड खेल्छन् विद्यार्थी


  • पत्रपत्रिका
  • बुधबार, माघ २२ २०७६

भुइँमा टेक्दा खुट्टा गड्ने हिउँ । कठ्यांग्रिने चिसो । विद्यार्थी हिउँकै थुप्रोमाथि पिटी खेल्दै छन् । दुई साताअघि परेको हिउँ अझै बिलाएको छैन । तर, चिसोले बिदा भएका मनाङ सदरमुकाम चामे र तिमाङका दुई विद्यालयले हिउँमै पढाइ सुरु गरेका छन् । चामेस्थित लोकप्रिय माविले आइतबारदेखि पठनपाठन सुरु गरेको हो । दुई सय ९२ मध्ये दुई सय ८० विद्यार्थी पढ्न आएको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए।

विद्यार्थी हिँड्ने बाटोदेखि विद्यालयसम्म जताततै खुट्टा गड्ने हिउँ छ । शिक्षक, विद्यार्थी र सेना मिलेर हिउँ सफा गर्दै पढाइ सुरु गरेका छौँ,’ प्रअ थापाले नयाँ पत्रिकासँग भने । चिसो हावा पनि चल्ने भएकाले थप समस्या भएको उनले बताए । २ पुसदेखि बन्द गरिएको विद्यालय पूर्वघोषणाअनुसार १९ माघदेखि सञ्चालन गरिएको थापाको भनाइ छ।
तिमाङको गौरिशंकर आधारभूत विद्यालयको प्रांगणमा पनि एक फिट बाक्लो हिउँ छ । यहाँ पनि हिउँमै पढ्दै छन् विद्यार्थी । ‘एक फिट बाक्लो हिउँ छ, तर घाम लाग्दा बाहिरै बेन्च राखेर पढाइ सुरु गरिएको छ,’ प्रअ कमलजंग गुरुङले भने ।

माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने बन्द छन् । १९ मंसिरमा अन्तिम परीक्षा सकिएपछि २० गते परीक्षा सार्वजनिक गरेर २१ मंसिरदेखि विद्यालय बन्द गरिएका थिए । यी विद्यालय १ चैतबाट मात्रै खुल्ने स्थानीय छिरिङ गुरुङले बताए । त्यस्तै, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार तल्लो क्षेत्रका विद्यालय पनि सुचारु भएका छैनन् ।

शिक्षा नियमावलीअनुसार विद्यालयले ४५ दिन बिदा पाउने प्रावधान रहेको शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारयण रेग्मी बताउँछन् । अर्को पाँच दिन स्थानीय पाउँछन् । तर, मनाङको माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । मनाङमा ४ मावि, ९ आधारभूत र १३ प्रावि गरी २६ सामुदायिक विद्यालय छन् । दुईवटा माविमा १२ सम्म र अन्य दुईवटामा १० कक्षासम्म पढाइ हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार