logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पदक नलिने २१६ सभासदहरु ‘सत्तारूढ देखी प्रतिबन्धित नेकपा’ सम्मको नामावली


  • राजनीति
  • शुक्रबार, फाल्गुन २ २०७६

मुलुकको संविधान निर्माणमा सहभागी एक हजार ९६ पूर्व सभासदलाई सरकारले संविधानसभा पदक दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार, २०७६ को गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा पदक वितरण गरिन्।

तर, त्यसबेला केही पूर्व सभासदहरुले पदक नै नलिने घोषणा गरेका थिए भने केहीले प्राविधिक कारण पदक लिन पाएका थिएनन्। गृह मन्त्रालयले त्यस दिन पदक लिन छुटेका र त्यस पछाडि समेत लिन नआएका पूर्व सभासदहरुको नामावली सार्वजनिक गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार, पदक लिन आउन सार्वजनिक सूचना सार्वजनिक गरिएको हो। प्रवक्ता शर्माले भने, “गृह मन्त्रालयमा आएर पदक लिन सकिन्छ। त्यसैका लागि सूचना जारी गरिएको हो।”

गृह मन्त्रालयले पदक लिन बाँकी २१६ पूर्व सभासदहरुको नामावली सार्वजनिक गरेको छ। पदक लिन बाँकी सूचनामा मृत्यु भइसकेकाहरुको नामावली समेत सार्वजनिक गरिएको छ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला देखि ताप्लेजुङ हवाई दुर्घटनामा ज्यान गुमाएका रबिन्द्र अधिकारी सम्मको नामावली पदक लिन बाँकी सूचीमा राखेको छ।

पदक लिन आउन भनेर सार्वजनिक गरिएको सूचनामा मृत्यु भइसकेका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, भरतमोहन अधिकारी, दीपक खड्काको नाम समेत उल्लेख गरिएको छ।

सूचीमा पूर्व राष्ट्रपति डा.रामवरण यादवको नाम समेत उल्लेख छ। त्यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द देखि तीन पटक गृहमन्त्री भइसकेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको नाम समेत सार्वजनिक गरेको छ।

पदक लिन बाँकी नाममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत पनि छन्। संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का देखि गगन थापा समेत छन्।

पदक लिन बाँकीहरुमा धेरै कांग्रेसका नेताहरु छन्। सभापति देउवासँगै, उपसभापति बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि तथा महामन्त्री शशांक कोइरालाको नाम सार्वजनिक सूचनामा उल्लेख छ।

सूचीमा कांग्रेसका नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, आरजु राणा, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी, नरहरी आचार्य, नविन्द्रराज जोशी, नारायण खड्का, निलाम्बर आचार्य, प्रदीप गिरी, बलबहादुर केसी, बिनोद चौधरी, मनमोहन भट्टराई, महेश आचार्य, मिनेन्द्र रिजाल, लक्ष्मण घिमिरे, शरदसिंह भण्डारी, सुजाता कोइराला छन्।

नेताहरु अशोक राई, महिन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ल, विश्वेन्द्र पासवान, लोकेन्द्र बिष्टमगर, गोपाल किराँती, चन्द्रप्रकाश (सीपी) गजुरेल, चित्रबहादुर केसी, प्रभु साह, दिलनाथ गिरी, नारायणमान बिजुक्छे, जयन्त चन्द लगायतले समेत पदक लिएका छैनन्।

गृह मन्त्रालयले जारी गरेको सूचनामा प्रहरी हिरासतमा रहेकी उमा भुजेलको नाम समेत उल्लेख छ। सरकारले गतिविधिमा प्र’तिबन्ध लगाएको नेत्रविक्रम चन्दको पार्टीमा आवद्ध सन्तोष बुढामगर, खड्गबहादुर विश्वकर्मालाई समेत पदक लिन आग्रह गर्दै सूचना जारी गरिएको छ।

२०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासदहरुलाई सरकारले पदक लिने निर्णय गरेको छ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार