logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वुहान बाट १७५ फर्किए, १० जना फर्किन पाएनन्


  • राजनीति
  • आइतबार, फाल्गुन ४ २०७६

केहि महिना देखी आतंकको रुप फैलिएको कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट एक  सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज  आइतबार बिहान ३ बजेर २२ मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। ६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन् भने ४ जना फर्किन मानेनन् । उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाए चीन सरकारले नेपाल जान नदिने बताएका थिए। त्यसैले धेरै विद्यार्थी शरीरको तापक्रम बढ्ला कि भनेर डराएका थिए। अन्य चारजना भने आफ्नो इच्छाले नेपाल नआएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालले हुवेई प्रान्तमा रहेका एक सय ८५ जना आफ्ना नागरिकलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्।

कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।

नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई प्रान्तमा रहेका नेपालीहरु शनिबार दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए। दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार