काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिए । ७० करोड कमिसनको डिल र राजीनामाले बाँस्कोटासहित वर्तमान सरकार आलोचित बन्यो ।
बाँस्कोटाले राजीनामा दिएकै दिन फागुन ८ बिहीबार उनको कार्यकक्षबाट ७ वटा डायरी लगिएको विषयले अहिले अर्काे आशंका उब्जाएको छ । बाँस्कोटाले राजीनामा दिएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटाको कार्यकक्षमा छापा मारेर कागजात लगिएको भनियो । तर, आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय बनेको समाचार मंगलबार नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
सञ्चार मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको भन्दै उक्त अखबारमा समाचार उल्लेख गरिएको छ, ‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले बतायो। तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’
यता मन्त्रालयका अधिकारीले कागजात सुरक्षित राखेको दाबी गरेका छन् । समाचार पत्रकाअनुसार मन्त्रालयका एक अधिकारीका अनुसार उक्त दिन अख्तियारले छापा नमारेको र मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको छ ।