logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेनाबाट बच्न यस्ताे गर्नुहाेस्, कस्ताले कुन माक्स लगाउने ?


  • राजनीति
  • शनिबार, फाल्गुन २४ २०७६

कोरोना (कोभिड-१९) भाइरसको त्रास विश्वभर फैलिएको छ। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण विश्वका ९१ देशमा पुष्टि भइसकेको छ। आजसम्म यसको उपचारका लागि कुनै औषधि वा खोपको आविष्कार भएको छैन। वैज्ञानिक यसको खोजीमा छन्। धेरैले यसबाट बच्ने उत्तम उपाय मास्कलाई मान्छन्।

कोरोना त्रास फैलिएसँगै मास्कको माग विश्वभर बढेको छ। नेपाली बजारमा चर्को अभाव छ। कालोबजारीले बजारमा कृत्रिम अभाव सिर्जना भएको भन्दै सरकारले अनुगमन सुरु गरेको छ।  के मास्क प्रयोगले कोरोना संक्रमणबाट बच्न सकिन्छ त ? मास्क मात्र विकल्प नभएको संक्रमण विशेषज्ञको भनाइ छ।

ह्याम्स अस्पतालका संक्रमण विशेषज्ञ डा. अनूप सुवेदी आम मानिसले सामान्य अवस्थामा मास्क प्रयोग गर्नु नपर्ने बताउँछन्। ‘आम मानिसले हिँड्डुल गर्दा मास्क प्रयोग गर्नु पर्दैन’, उनले भने, ‘कसैलाई खोकी र हाछ्यूँ लाग्यो भने त्यस्तो व्यक्तिबाट अरूलाई नसरोस् भनेर सुरक्षाका लागि मास्क लाउने हो।’

त्यस्तै बिरामी तथा बिरामीको हेरचाह गर्ने व्यक्तिले सर्जिकल वा मेडिकल मास्क लगाउनुपर्ने उनको भनाइ छ। ‘कपडाको पनि मास्क हुन्छ, त्यसले भाइरस रोक्न सक्दैन, सर्जिकल मास्क लगाउनुपर्छ’, उनले भने, ‘एन-९५ जस्ता विशेषगरी चिकित्सकले लाउने मास्क पनि लाएर हिँडेको देखेको छु। तर, त्यो लाउन नजानेर त्यो खेर गइरहेको छ।’

यसैगरी मेडिसिटी अस्पतालका आईसीयू विशेषज्ञ डा. दिप्तेश अर्यालले मास्क महत्वपूर्ण भए पनि यसको प्रयोगले कोरोना संक्रमण शतप्रतिशत रोक्न नसक्ने बताउँछन्। ‘संक्रमित व्यक्तिले हाछ्यूँ गर्दा नाकबाट साना थोपाहरू निस्कन्छन्’, उनले भने, ‘त्यसलाई रोक्न मास्क लाउने हो। सबैले मास्क लगाउन जरुरी छैन।’

डा. अर्याल भीडभाड हुने स्थलमा नजान सर्वसाधारणलाई आग्रह गर्छन्। ‘सकेसम्म भीडभाड हुने ठाउँतिर नगएकै राम्रो हुन्छ। जानै परे सर्जिकल मास्क लाउनुपर्छ’, उनले भने, ‘तर कतिपयले सयौँ मास्क भण्डारण गरेर राखेका छन्, जसले बजार तथा अस्पतालमै पनि यसको अभाव हुन थालेको छ।’

लगातार प्रयोग गर्दा सर्जिकल मास्कले ६ देखि ८ घण्टासम्म भाइरस संक्रमणबाट जोगाउन सक्छ। यसमा भएको ‘थ्री प्लाई’ (तीन लेयर)ले भाइरस भित्र छिर्नबाट जोगाउने हुँदा यसको प्रयोग महत्वपूर्ण हुने उनले बताए।

मेडिसिटी अस्पतालकी संक्रमण नियन्त्रण विभागकी नर्स अस्लेशा उप्रेती मास्कको प्रयोग कोरोनाबाट बच्ने प्रमुख उपाय नभएको सुनाउँछिन्। ‘हल्लाको पछाडि लागेर अहिले मास्कको दुरुपयोग भइरहेको छ’, उनले भनिन्, ‘सबै सर्वसाधारणले मास्कको प्रयोग गर्नु पर्दैन, त्यो भन्दा हातको सफाईमा ध्यान दिनुपर्छ।’

सर्वसाधारणले यात्रा गर्दा वा हिँडडुल गर्दा एन-९५ मास्क लगाउनु घातक हुने उनको भनाइ छ। ‘एन-९५ मास्क भाइरस संक्रमण रोक्नुभन्दा पनि मान्छे निस्सासिन्छ’, उनले भनिन्, ‘त्यस्तो मास्क लगाएर बाइक चलाउँदा निस्सासिएर दुर्घटना पनि हुन सक्छ। त्यसैले चिकित्सक र भाइरस संक्रमितले मात्र मास्कको प्रयोग गर्ने हो, यसको जथाभावी प्रयोग आवश्यक छैन।’

माक्समा चरम अभावमास्कमा कालोबजारी : दुई औषधि पसलमा तालाबन्दीमास्क कालोबजारी गर्नेमाथि कारबाहीमेडिकलमा ‘नो मास्क’मास्क अभावपछि सरकारको छापा : ३० रुपैयाँको मास्कलाई १ सय ।

बजारमा मास्कको माग बढेसँगै अस्पतालमा यसको अभाव हुन सक्ने सम्भावना देखिएको छ। ‘सबै सचेत नहुने हो भने चाँडै अस्पतालमा मास्क अभाव हुन्छ’, उप्रेती भन्छिन्,  ‘स्यानिटाइजरको पनि अभाव देखिन थालेको छ।’

डब्लूएचओको तथ्यांकअनुसार अस्पतालमा मात्र हरेक महिना ८ करोड ९० लाख मास्कको खपत हुन्छ। करिब २९ लाख लिटर स्यानिटाइजर हरेक महिना अस्पतालमै खपत हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार