राजनीति
काठमाडौं- सरकारले नेपाल प्रहरीको आइजीमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि डिआइजी रमेश खरेलले राजीनामादिन बाध्य भएका छन।
गठबन्धनका प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र एमालेका शिर्ष नेताको आँखामा खरेल नपरेका कारण उनी आइजीमा बढुवा नभएका हुन् ।
एसपी हुँदादेखि नै प्रभावकारी काम गरेका खरेलले एसएसपी हुँदा काठमाडौंमा गुन्डागर्दी तहसनहस पारेका थिए । उनी संगठनका लागि ‘क्रिम’ अफिसरका रूपमा कार्यरत थिए । उनले भनेका छन्, ‘संगठनको नेतृत्व गर्ने सपना बोकेर हिँडेको थिएँ अब काम गर्ने उर्जा नै नरहने भएकाले राजीनामाको मनस्थितिमा पुगेको हुँ।’
सर्वेन्द्र खनालमा आफैमा सक्षम प्रहरी अधिकारी हुन् । उनको नियुक्तिको विषयमा कहीँ कतै विरोध सुनिएको छैन् । तर, खरेललाई आइजीमा बढुवा गरे पनि खनालले आइजी हुने अवसर पाउने थिए । १३ महिनाको कार्यकाल सँगै खरेल घर जाने समयावधि हुँदा त्यसपछिको प्रहरी कमान्ड खनालले पाउने स्पष्ट बाटो थियो । ‘उनी राजनीतिक चेपुवामा परेका छन् । अवसर हुँदाहुँदै पनि नपाउनु भनेको राजनीतिक दुशाग्रहको सिकार बनाइएको हो’, उच्च सुरक्षा अधिकारीले भने, ‘खरेलको प्रहरी जीवन इमान्दारितामा वित्यो अन्तिममा उनले मौका पाएनन् ।’
चलखेल
खरेलका राम्रा पक्षको जति मुल्यांकन भए पनि एकाध समाचार र तथ्यका कारण उनलाई आइजीमा बन्देज गरिएको थियो । प्रहरीमा सुराकीले पाउने रकम श्रीमतीमार्फत आफैले राखेको भन्ने अभियोग खरेलका लागि आइजी बढुवाको प्रमूख चुनौति बन्यो । अर्कातर्फ एमालेसँग गतिलो सम्बन्ध नहुनु र माओवादीको आँखामा पर्न नसक्नु उनका दोष भएको धेरैको ठम्याई रहेको छ ।
यसपटक आइजीको स्पर्धामा रहेका तीन जना नै प्रभावशाली डिआइजी रहेका कारण सरकारले कुनै एकलाई मात्र बढुवा गर्नुपर्ने बाध्यताको सिकार पनि खरेल भएका हुन् । ‘म कुनै पनि आवरणमा अदालत वा कानुनी झन्झटमा पर्नेवाला छैन । त्यसरी अधिकार खोज्दै जाने कोटीमा पनि छैन । यसकारण संगठन अझ प्रभावकारी होस् भनेर राजीनामाको मनस्थितिमा पुगेको हुँ’, उनले सीमित पत्रकारलाई आफ्नो योजनाबारे खुलाएका छन् ।
खरेललाई आइजी बनाउनका लागि पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र केही एमाले नेताहरूले जोडबल गरे पनि गठन्धन दल माओवादी केन्द्रको प्रभाव र प्रधानमन्त्री ओलीको विवादमा नआउने चाहनाले पनि उनले यो मौका नपाएको बताइन्छ ।
खरेल आइजीमा बढुवा नगर्नका लागि एमाले उपाध्यक्ष बामदेव गौतमको पनि दबाब रहेको बताइन्छ । अच्युतकृष्ण खरेल र एमाले नेता गौतमको ‘चिसो सम्बन्ध’को चेपुवामा खरेलको बढुवा परेको पनि बताइने गरेको छ ।
देउवाको दोष
यसो त उनी यसअघि नै शेरबहादुर देउवा नेतृत्वको सरकारबाट अन्यायमा परेका थिए । देउवा सरकारले डीआइजी बढुवा गर्दा खरेललाई सर्वेन्द्र खनालले उछिनेका थिए । जतिबेला खरेल शान्ति मिसनमा डार्फरमा थिए । डीएसपीदेखि एसएसपीसम्म १ नम्बरमा रहेका खरेल डीआइजीमा भने दोस्रो भएका थिए । त्यतिबेला लागेको ठेसको चोट यसपटक खरेलले सहनु परेको हो । देउवा सरकारले आफूलाई अन्यायमा परेको भन्दै खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा आफूलाई न्याय मिल्ने आशा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले वरियतालाई मिच्न चाहेनन् ।
यसअघि तीन नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीमा बढुवा गर्दा तत्कालिन देउवा सरकार विवादमा तानिएको थियो । त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए । सोही विवादका कारणले सर्वोच्च अदालतकी तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीसम्मले महाअभियोगको सामना गर्दा राजनीतिक दलका नेताहरूको प्रत्यक्ष ‘इन्ट्रेस्ट’ सतहसम्म आएको थियो ।
मंगलबारको पहिलो मन्त्रिपरिषद्को बैठकले आइजीका विषयमा कुरा टुंग्याउन नसक्नुको मूल कारण पनि यही थियो । प्रचण्डले ओलीलाई प्रहरीको कुरामा विवादमा आउन नहुने भन्दै सुझाव दिएपछि साँझ बसेको मन्त्रिपरिषद्ले खरेलका ठाउँमा एक नम्बरमा डिआइजी बढुवामा परेका खनाललाई आइजी बनाउने निर्णय गर्यो । यस्तै सशस्त्र प्रहरीमा पनि वरिष्ठ एआइजी रहेकाले शैलेन्द्र खनालले आइजीको फूली लगाउने मौका पाएका हुन् ।