logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कृत्रिम आराेप लगायर हुने दमनकाे जवाफ महंगो दिन्छाै : विप्लव


  • राजनीति
  • आइतबार, चैत्र २ २०७६

विप्लव नेतृत्वको नेकपा जनकपुर ब्युरोले नेकपाका नेता–कार्यकर्तालाई अपहरणको आरोप लगाउँदै गिरफ्तार गर्ने कार्य पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइन रहेको जनाएको छ ।

जनकपुर  ब्युरो इन्चार्ज अरुणले प्रेस वक्तव्य जारी गर्दै पार्टीकामको सिलसिलामा उदयपुर पुगेको समयमा झूट्टा आरोप लगाउँदै गिरफ्तार गरिएका सुनसरीका विवेक खड्का, भोजपुरका मणिराज राईलगायत १४ जनालाई तत्काल बिनासर्त रिहा गर्न पनि आग्रह गरेका छन् ।

ब्युरो इन्चार्ज अरुणको वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको जनसम्पर्क तथा सङ्गठन विस्तारका क्रममा उदयपुर जिल्लाको कटारी नगरपालिका १ को खसीबासमा पुगेका कार्यकर्ताहरूलाई २०७६ फागुन २९ गते दिउँसो ठूलो सङ्ख्यामा सुरक्षा निकाय परिचालन गरी सुनसरीका कमरेड विवेक खड्का, भोजपुरका कमरेड मणिराज राईलगायत १४ जनालाई गिरफ्तार गरिएको घटनाको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘सामान्य ढङ्गले गाउँघरमा सङ्गठन निर्माण गर्दै हिँडेका कार्यकर्ताहरूलाई कथित अपहरणजस्तो कृत्रिम आरोप लगाइएकोमा पार्टी खण्डन गर्दछ साथै बालबालिकालाई पूर्णकालीन कार्यकर्ता बनाउने पार्टीको कुनै नीति नरहेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘जनताका पक्षमा निरन्तर सङ्घर्ष गर्दै अगाडि बढेको राजनीतिक पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइनअन्तर्गत झूट्टा र कपोलकल्पित विषयलाई प्रचार गर्दै हिँड्नुले वर्तमान राज्यसत्ताको षड्यन्त्रको स्तरलाई प्रस्ट पार्दछ । शान्तिपूर्ण ढङ्गले जनताका बीचमा रहेका कार्यकर्तालाई फसाउन हातहतियार, बम, विस्फोटक पदार्थजस्ता विषयसँग जोडेर झूट्टा मुद्दामा फसाउने सरकारी हर्कतको भण्डाफोर गर्दछौँ । गिरफ्तार सबै कार्यकर्ताहरूको रिहाइको माग गर्दछौँ । अन्यथा कडा सङ्घर्ष गरिने चेतावनी पनि यसै वक्तव्यमार्फत दिन चाहन्छौँ ।’
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार