आज चैत ७ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरसको संक्रमणका बीच त्यसको रोकथामका लागि नेपालमा भइरहेको तयारीको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् ।
कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको कान्तिपुर दैनिकमा छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ नसकेको’ बताए । ‘नेपाल र भारत दुवैतर्फ स्थिति भनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । यो सातादेखि सुनौली, काँकडभिट्टा, जोगबनी र गड्डाचौकी स्थल नाकाबाट मात्र दुईदेशीय नागरिक आवतजावत गर्न दिइने भनिए पनि निर्णय उपयोगी देखिन सकेको छैन ।
कान्तिपुर दैनिकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउनसमेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको समाचार प्रकाशित गरेको छ । संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनुपर्ने आँकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो । त्यसअनुसार संक्रमति भेटिए आवश्यकता अनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने खाका बनाउन लागिएको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटीबारे छलफल भएको थियो । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।