राजनीति
कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ। छिमेकी मुलुक भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउनको मोडालिटीबारे सरोकारवाला निकायसँग परामर्श गरेको छ। यसबारे विस्तृत छलफल गरी निर्णय लिन शुक्रबार बेलुका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय बैठक बोलाएका छन् ।बैठकलगत्तै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ।
नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका नेता पोखरेलले यसअघि नै कुनै पनि बेला लक डाउन गर्न सकिने बताउँदै आएका थिए । साँझै ६ बजे प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा गर्ने सम्बोधनमा केही महत्वपूर्ण घोषणा हुने बताइएको छ।प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अन्य वरिष्ठ मन्त्रीहरुलाई बालुवाटार बोलाएर लक डाउनको संभाव्यताबारे छलफल गरेका थिए।
यसबाहेक भारतसँगका सबै नाका बन्द गर्नेबारे पनि सरकारले भारतसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । दुई लाख भन्दा धेरै संक्रमित भएका छन् भने १० हजार बढीको मृत्यु भइसकेको छ । नेपालको छिमेकी भारतमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ ।