राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज प्रबिनले अबका युवाहरुले खुद्रा सुधार समय ब्यतित गर्न ससाना खेलहरुमा होइन मुलुकको अवस्था र ब्यवस्था बदल्ने संघर्षको नेतृत्व गर्नुपर्ने धारणा राखेकाछन । इन्चार्ज प्रविनले आफ्नो पार्टी निकट युवा संगठन नेपाल पाल्पा रामपुर नगरको सम्मेलन उद्धघाटन गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा पाल्पाका इन्चार्ज प्रविणले आजका युवाहरु राजनीतिक र सामाजिक विकृति विरुद्ध सङ्घर्ष गर्न तयार हुनुपर्ने बताए । उनले दलाल पुँजीवादी व्यवस्थाका कारण युवाहरु कुलतमा फस्ने, तासजुवा खेल्ने, क्यारमबोर्डमा भुल्ने जस्ता गलत संस्कृतिका कारण भविष्यविहीन भएर निराशामा डुब्नु परेको भन्दै यी राजनीतिक र सामाजिक विकृति विसंगति र दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध क्रान्तिमा जोडिनुपर्ने बताए । उनले युवाहरुको सुन्दर भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने भन्दै त्यसका लागी एकीकृत जनक्रान्तिको माध्यमद्धारा सङ्घर्ष जारी रहेको बताए । आजका युवाहरु आधुनिक दासका रुपमा विदेशी गल्लीहरुमा धाउन बाध्य पार्ने दलाल संसदीय व्यवस्थाको मुल जरो उखेल्ने जिम्मेवारी युवाहरुको काधमा आएको बताएकाछन ।
उक्त सम्मेलनमा जिल्ला सेक्रेटरी बिजीले युवाहरु क्रान्तिको आशा लाग्दो पुस्ता भएको भन्दै क्रान्तिको झण्डामुनि गोलबन्द हुन आव्हान गरेकाछ्न । कार्यक्रममा जनपरिषद पाल्पाका प्रमुख नेपाल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज शारदा भण्डारी, जिल्ला अध्यक्ष लङ्क लगायतले बोलेका थिए ।
सम्मेलनले सिर्जन सारु मगरको अध्यक्षतामा २१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । युवा संगठन नेपालले नगरमा युवाहरुको पक्षमा सङ्घर्षलाई चर्काउने घोषणा गरेको छ ।