logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लकडाउनमा खटिएका सशस्त्र र प्रहरीबिच विभेद किन ?


  • राजनीति
  • शनिबार, चैत्र १५ २०७६

सशस्त्र प्रहरी मुख्यालयले कोभिड–१९ विरुद्ध लगाइएको लकडाउन कार्यान्वयन गर्न खटिएका आफ्ना जनशक्तिलाई दिउँसो ‘विशेष खाजा’खुवाउन देशभरका युनिटलाई परिपत्र गरेको छ । नियमित रासन स्केलबाहेक दिउँसो छुट्टै खाजाको व्यवस्था गर्न सशस्त्रले शुक्रबार देशभरका युनिटलाई परिपत्र गरेको हो ।

फिल्डमा खटिएका नेपाल प्रहरीलाई भने खाजाका लागि छुट्टै व्यवस्था गरिएको छैन। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ विरुद्ध लगाइएको लकडाउन कार्यान्वयनमा फिल्डमा तैनाथ फौजका लागि दिउँसो २ देखि ३ बजेको समयमा खाजाको व्यवस्था गरिएको बताए।

‘लकडाउन अवधिभर देशभर फिल्डमा तैनाथ फौजलाई खाजाको व्यवस्था गर्न शुक्रबार बाहिनी, गण/गुल्म तथा बीओपीसम्म सर्कुलर गरिएको छ,’ महानिरीक्षक खनालले  भने, ‘फौजको मनोबल उकास्‍न यसले सहयोग पुर्‍याउने छ।’

फिल्डमा खटिनेलाई अनिवार्य रुपमा मास्क र पञ्‍जा लगाउन तथा कार्यालय प्रवेश गर्दा स्यानिटाइजर प्रयोग गर्न पनि दिर्देशन दिइसकेको उनले बताए।

नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी उमेशराज जोशीले लकडाउन वा अन्य भूमिकामा खटिएका प्रहरीलाई अतिरिक्त खाजाको व्यवस्था नगरिएको बताए। ‘लकडाउनका क्रममा खटिएका सुरक्षाकर्मीलाई छुट्टै खाजाको व्यवस्था भएको छैन, कतिले आफ्नै खर्चले खाजा खाने गरेका छन्,’जोशीले भने,‘सरकारले यस विषयमा सोचिदिए काम गर्ने जनशक्तिको मनोबल उच्च हुने थियो।’

फ्रन्टलाइनमा खटिनेको मनोबल उच्च भएमात्रै तोकिएको जिम्मेवारी पनि प्रभावकारी रुपमा पूरा गर्न सकिने उनले बताए। सशस्त्र र नेपाल प्रहरीले अत्यावश्यक काम,आन्तरिक प्रशासनिक र अपराध अनुसन्धान तथा नियन्त्रणमा तैनाथ बाहेक सबेलाई फिल्डमा केन्द्रीत गराइसकेको छ। सेनाले सम्बन्धित जिल्ला प्रशासनबाट आदेश भएमा मात्रै फिल्डमा खटिने गरी आफ्ना फौजलाई ब्यारेकभित्र लकडाउन गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार