लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा रहेका ३० जना पर्यटकको उद्धार गरेर पोखरा पठाइएको छ ।यो समाचार कान्तिपुर लम्जुङका सवाददाता आश गुरुङले लेखेका छन। यसरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई प्रहरी, स्थानीय तह र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको सहयोगमा उद्धार गरिएको हो ।
माथिल्लो मनाङ, माथिल्लो पिसाङ, तल्लो पिसाङ, ङावल, चामेलगायत ठाउँबाट पर्यटकलाई उद्धार गरी पोखरा पठाएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।
उनका अनुसार उद्धार गरिएका पर्यटकमा जर्मनी र नेदरल्यान्ड्सका बढी छन् । अमेरिका, फ्रान्स, बेल्जियम स्विजरल्यान्डलगायतका पर्यटक पनि छन् । ६ वटा जिपमार्फत लमजुङको बेंसीसहर हुँदै २४ जना पर्यटकलाई शुक्रबार पोखरा पठाइएको छ । चामेका होटलमा रहेका अरु ६ जनालाई शनिबार बिहान उद्धार गरी पोखरा पठाइएको प्रजिअ पौडेलले बताए । लमजुङको उत्तरी क्षेत्रमा रहेका पर्यटकसमेत सम्पर्कमा आएकाले उनीहरुलाई समेत पोखरा पठाउन भनिएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटक माथिल्लो मनाङ कटेकाहरु थोराङला पास गरेर मुक्तिनाथ पुगेपछि मुस्ताङ प्रशासनले उद्धार गरिसकेको छ। केही पर्यटक हिँडेरै बेंसीसहरतर्फ आएका छन्। मनाङमा अझै पर्यटकको खोजी गरिरहेको प्रजिअ पौडेलले बताए। ‘केही पर्यटक हामी यहीं बस्छौं, जाँदैनौं भनिरहेका थिए। तर, उनीहरु अहिले हामी पनि जान्छौं भनिरहेका छन्। जिपको अभाव भयो,’ उनले भने।
सरकारले विदेशी पर्यटक फर्काउने घोषणा गरेपछि पदमार्गमा रहेका पर्यटकको खोजी गरिएको थियो। लकडाउन गरेपछि मनाङमा तल्लो क्षेत्र धारापानीबाटै पर्यटकलाई माथिल्लो क्षेत्र जान दिइएको छैन। लमजुङको मर्स्याङदी गाउँपालिका ९, बगैंचाको पर्यटक चेक केन्द्र र लमजुङको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरबाट पर्यटक प्रवेश अनुमतिपत्र नदिएको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरका प्रमुख बालकृष्ण घलेले बताए।