logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

केे गर्दा काेराेना सर्दैन ? यस्ताे भन्छ स्वास्थ्य मन्त्रालय


  • राजनीति
  • मंगलबार, चैत्र १८ २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको त्रास गाउँगाउँसम्म छ। कोरोना संक्रमण त्रासले गाउँमा किसानले कामै छोडेको भन्ने समाचारप्रति स्वास्थ्य मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार बोल्दै मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउने कि नचराउने भन्ने अन्यौलता रहेको समाचारप्रति मन्त्रालयको ध्यनाकर्षण भएको बताएका हुन्। उनले व्यक्तिगत दूरी कायम गरेर सबै काम गर्न मिल्ने प्रष्ट पारेका छन्।

‘अहिले गाउँबाट थुप्रै के समाचार आइराखेको छ भने खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउन जाने कि नजाने ?’, डा. कार्कीले भने, ‘व्यक्तिगत दूरी कायम राखेर आमनेसामने नबसिकन जुनसुकै काम गर्नुहुन्छ।’

उनले परिवारका सदस्य कसैलाई ज्वरो आए, विदेशबाट आएको व्यक्तिमा कोरोनाको लक्षण देखिए उनीहरुले मास्क लगाए हुने तर कामै गर्नु नहुने भन्ने नभएको प्रष्ट पारे।

‘खेतीपाती गर्न मिल्छ, गाईवस्तु चराउन मिल्छ। घाँसकाट्न मिल्छ’, डा. कार्कीले भने, ‘यो चाहिँ असाध्यै ठूलो भय र त्रास भइराखेको छ। यो नलिन सबैलाई हार्दिक अनुरोध गर्दछु।’

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्दै गर्दा क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएको प्रतिसमेत ध्यानाकर्षण भएको बताएको छ। घरबेटीले चेतावनी दिएको भए तत्काल नजिकको प्रशासनमा गएर उजुरी गर्न मन्त्रालयले अनुरोध गरेको छ।

‘कोरोना क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएकोसमेत गुनासो आएको छ’, डा. कार्कीले भने, ‘यदि त्यस्तो हो भने नजिकको प्रशासनमा गएर उजुरी गर्नुहोस्।’

अहिले कोरोना संक्रमण नफैलिएको प्रष्ट पार्दै डा. कार्कीले यो फैलिए चिकित्सक र नर्सलाई सुविधासम्पन्न होटलमा राख्ने तयारी सरकारले गरिरहेकोसमेत उनले प्रष्ट पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार