logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सबै भन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथलाई पनि ट्राफिक नियम


  • राजनीति
  • शनिबार, बैशाख ८ २०७५

ललितपु- सर्वसाधारण सवारी चालकलाई मात्र नभएर चारपाङ्ग्रे रथमा आरूढ रातो मच्छिन्द्रनाथलाई पनि ट्राफिक नियमको पूर्ण पालना गराइएको छ । ललितपुर ट्राफिक निरीक्षक सीताराम हाछँेथुको अगुवाइमा रथ तानिएको, मोडिएको र पाङ्ग्रामा ब्रेक लगाइएको, रथले भार वहन गर्न सक्ने नसक्ने गरी मानिसको समूह रथमा रहे नरहेकोबारे पनि निरीक्षण गरिएको छ ।

हाछँेथु भन्नुहुन्छ, “ट्राफिकले यान्त्रिक सवारी मात्र हेर्छ तर सडकमा गुड्ने भएकाले देवताको रथको अवस्थाले पैदलयात्रुलाई असर गर्छ गर्दैन, रथ सही प्रकारले गुडेको छ छैन, सही प्रकारले ब्रेक लगाइएको छ छैन, यस विषयमा सर्वसाधारणले जस्तै ट्राफिकले पनि चासो दिने विषय नै हो । ”

बिहीबार पुल्चोकबाट गाःबहालतर्फ लगिएको रथको अवस्थाबारे ट्राफिक प्रहरीले गम्भीर रूपमा अवलोकन गरेर रथलाई गाःबहालतर्फ सहज रूपमा पु¥याउन सहयोगी भूमिका निर्वाह गरेको थियो । यद्यपि ट्राफिक प्रहरीले इन्धनबाट गुड्ने यान्त्रिक सवारीतर्फ मात्र निगरानी गर्दछ ।
विगतमा जात्रामा दुर्घटना भएका घटना पनि छन् । बिस्केट जात्राको रथले दुई जना घाइते भए भने कुमारी रथयात्रामा पनि यस्तो दुर्घटना भएको थियो । पशुपतिमा बच्छलेश्वरीको खटले पनि दुर्घटना गरायो । “देवताको रथले दुर्घटना गराएको कसैले जिम्मेवारी लिँदा रहेनछन्, यसतर्फ सरोकार राख्ने सजग हुनु जरुरी छ,” निरीक्षक हाछँेथुको भनाइ छ ।

रथलाई स्यास्या बाजेले रथको धःमा भनिने बाङ्गो काठमा रहेर अगाडि बढाउन भन्ने, जात्रालुले डोरी तानेर रथ अगाडि बढाउने, घक्कुले चारै पाङ्ग्रामा ब्रेकको जिम्मा लिने, यँवाल र बाराहीले रथको काठको अन्य भागको जिम्मा लिनुपर्ने लगायतका प्रक्रिया रथयात्रामा हुन्छ । रथ गुडाउने प्रक्रियाभन्दा निकै फरक रहेको छ । “यस्तो परम्परागत रथयात्रामा रथ दुर्घटना हुँदा यान्त्रिक सवारीजत्तिकै जोखिमपूर्ण रहन्छ, यसैले पनि ट्राफिकको जरुरी परेको हो,” पुल्चोक निवासी हरि प्रधानको भनाइ छ ।

रथयात्रालाई ललितपुर ज्यापू समाजले निकै व्यवस्थित रूपमा चलाएको छ । यान्त्रिक सवारी जत्तिकै होशियारी अपनाइएकाले पुल्चोकबाट गाःबहालसम्म रथ सहज रूपमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार